कोरोना भाइरसका कारण विदेशमा थप ९ नेपालीको मृत्यु

लण्डन : कोरोना भाइरस (कोभिड-१९) ‍संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार गत साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय २७ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार गत साता बेलायत, प्रोतुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६९ हजार १ सय ८० जना छ भने २ लाख ६३ हजार ७ सय ३४ जना अर्थात ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

एक सातामा औसतमा २ हजार नेपाली संक्रमित

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा २ हजार नेपालीहरु संक्रमित हुने गरेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा ८ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिए । सोही अवधिमा औसतमा एक महिनाको अवधिमा ४ हजार जना संक्रमणमुक्त हुने आंकलन गरेको डा सापकोटाले बताए ।

स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान शुरु भइसके पनि नेपाल लगायतका नेपाली भएका कयौँ मुलुकमा खोप अभियान शुरु नभएकोले सावधानी अपनाउन आग्रह गरेको छ ।