काठमाडौं : नेपालमा थप तीन सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाँच हजार ३० जनाको पीसीआर नमूना परीक्षण गर्दा २ सय २४ जना पुरुष र १ सय २२ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ ।
काठमाडौं उपत्यकामा १ सय ९८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ४६, भक्तपुरमा र १६ ललितपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, प्रदेश एकमा १३ , दुईमा तीन बागमती प्रदेशमा २ सय ३१ र गण्डकी प्रदेशमा ४१ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा २९, कर्णालीमा तीन र सुदुरपश्चिममा थप १३ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ७ सय ९९ रहेको छ । तिमध्ये २ हजार ९ सय ७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । होम आइसोलेसनमा रहनेको संख्या आठ सय ९२ रहेको छ । आईसीयुमा १ सय ५० र भेन्टिलेटरमा ३४ जनाको उपचार भैरहेको छ ।
पछिल्लो चौबीस घण्टामा २ सय २६ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ६२ हजार ८ सय ६८ रहेको छ । अहिलेसम्म निको हुनेको दर ९७ दशमलव नौ प्रतिशत रहेको छ ।
हालसम्म २० लाख ३१ हजार ७ सय ५६ वटा पीसीआर परीक्षण भएको छ । हाल देशभर एक सय ७२ जना क्वारेन्टिनमा रहेका छन् ।
कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै कोरोनका कारण मृत्यु हुनेको संख्या एक हजार नौ सय ७९ पुगेको छ । कोरोना संक्रमित भएकामध्ये नेपालमा शुन्य दशमलब सात तीन प्रतिशत संक्रमितको मृत्यु भएको छ ।