नेपालमा थपिए २६६ कोरोना संक्रमित

काठमाडौं : नेपालमा थप दुई सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय आठ जनाको पीसीआर नमूना परीक्षण गर्दा १ सय ७५ जना पुरुष र ९१ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय ५६ पुगेको छ ।

काठमाडौं उपत्यकामा १ सय ७७ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ४५, भक्तपुरमा नौ र ललितपुरमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेश एकमा चार र दुईमा एक , बागमती प्रदेशमा १ सय ९९ र गण्डकी प्रदेशमा २६ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा ३४ र सुदुरपश्चिममा थप दुई जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या तीन हजार नौ सय १९ सय एक रहेको छ । तिमध्ये २ हजार ८ सय ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन । होम आइसोलेसनमा रहनेको संख्या एक हजार ८२ रहेको छ । आईसीयुमा १ सय ५७ र भेन्टिलेटरमा ३९ जनाको उपचार भैरहेको छ ।

पछिल्लो चौबीस घण्टामा ४ सय जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ६१ हजार चार सय ४४ रहेको छ । अहिलेसम्म निको हुनेको दर ९७ दशमलव आठ प्रतिशत रहेको छ । हालसम्म २० लाख १२ हजार ४ सय ५२ वटा पीसीआर परीक्षण भएको छ । हाल देशभर दुई सय २१ जना क्वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोनका कारण मृत्यु हुनेको संख्या एक हजार नौ सय ५९ पुगेको छ । कोरोना संक्रमित भएकामध्ये नेपालमा शुन्य दशमलब सात तीन प्रतिशत संक्रमितको मृत्यु भएको छ ।