काठमाडौं : नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत जाँदै छन् । दुई दिनसम्म नयाँदिल्लीमा हुने बैठकमा सहभागी हुन ज्ञवाली त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
तीन दिने भारत भ्रमणका क्रममा कोरोना भाइरस संक्रमण विरुद्धको खोप खरिद, सीमा समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नयाँदिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । भ्रमणले सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भू–भागलाई समेटेर नेपालले नयाँ नक्सा प्रकाशन गरेपछि चिसिएको सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ ।
संयुक्त आयोगको बैठकमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मी अर्यालका साथै अर्थ, ऊर्जा, सिँचाइ तथा जलस्रोत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।
प्रतिनिधिसभाको विघटनपछि परराष्ट्रमन्त्रीबाट हुन लागेको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । मन्त्री ज्ञवाली माघ ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।