काठमाडौं : राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति १२ बजेदेखि लागू हुने गरी संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी हुन् ।
आइतबार विहान बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरेको थियो । छ महिनामा संसद अधिवेशन बोलाउनुपर्ने बाध्यात्मक अवस्थाका कारण सरकारले पुस सत्र गते हिउँदे अधिवेशन आह्वान गरेको थियो ।
प्रतिनिधिसभा विघटन भएकाले राष्ट्रियसभा विजनेशविहीन अवस्थामा थियो । पछिल्ला बैठकमा सांसदहरुले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा चर्को आलोचना गर्दै आएका थिए । हिउँदे अधिवेशनमा जम्मा चारवटा बैठक बसेका छन् । संविधान अनुसार राष्ट्रियसभाको बैठक ६ महिनाभित्र बोलाउनुपर्ने हुन्छ ।