दुवै अध्यक्षको प्रतिवेदन समायोजन गरि एउटा बनाउने सहमति भयो : शेरबहादुर तामाङ

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शेरबहादुर तामाङले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फरक फरक प्रतिवेदन समायोजन गरी एउटै राजनीतिक प्रतिवेदन ल्याउने सहमति बनेको खुलासा गरेका छन् ।

उनले पार्टी कुनै हालतमा नफुट्दै भन्दैैै सहमतिको ढोका खुलेको बताउ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज बोल्दै पार्टीमा पछिल्लो समय उठेका कतिपय विषयहरुको टुंगो स्थायी कमिटी बैठक बसी कार्यदल बनाएर लगाउने सहमति समेत बनेको बताए ।

‘नेकपा कुनै हालतमा फुट्दैन,’ पूर्वमन्त्री समेत रहेका नेकपा नेता तामाङले भने, ‘दुवै अध्यक्षको प्रतिवेदन समायोजन गरी एउटै प्रतिवेदन बनाउन स्थायी कमिटीमार्फत् कार्यदल बनाएर अगाडि बढ्ने सहमति बनेको छ ।’ एक व्यक्ति एक पदको विषय पनि स्थायी कमिटी बैठकले टुंगो लगाउने तामाङले बताए ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा तामाङले अध्यक्षद्वय ओली र प्रचण्डको प्रतिवेदनको आरोप प्रत्यारोपलाई फिर्ता लिएर सकारात्मक र समिक्षात्मक विषय समावेश गरी साझा प्रतिवेदन बनाइने सहमति भएको खुलासा गरे । ओली र प्रचण्डबीचको एक्ला एक्लै वार्ताले सहमतिको बाटो खुलाएको समेत उनको भनाई थियो ।

पार्टीभित्र बहस र विवाद हुनुलाई सामान्य भन्दै समस्याको समाधान गरिने बताए । उनले भने, ‘छलफलबाट सहमति निकालिन्छ, नेकपा फुट्छ भन्ने भ्रम नपाले हुन्छ ।’ देश महामारीसँग जुधिरहेकाले सबै राजनीति दल एकजुट भएर समाधानमा जानुपर्ने बताए । देशमा भ्रष्टाचार भएको भए छानविन गर्न विपक्षी दलले पनि सहजीकरण गर्नुपर्ने बताए ।

पूर्व राजालाई राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिए । तामाङले भने, ‘पूर्व राजालाई कुनै पार्टीमा आउनुहुन्छ र कुनै पार्टी बनाएर आउनुहुन्छ भने स्वागत छ, प्रतिस्पर्धा गर्न तयार छौं ।’ कसैले सडकमा आएर राजा आऊ भन्दैमा नआउने बताए । उनले यो संविधान बाहेक देशमा अर्को संविधान हुन नसक्ने बताए ।