नेपालमा थपिए १३८० कोरोना संक्रमित, थप १९ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ६८ वटा नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ३४ पुरुष र ५ सय ४६ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४ सय ८५, ललितपुरमा १ सय २४ र भक्तपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ सय ४७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । त्यसैगरी, प्रदेश १ मा १ सय ९५, प्रदेश २ मा ३७, गण्डकी प्रदेशमा २ सय २१, लुम्बिनी प्रदेशमा १ सय ७१, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा आठ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८३ छ । सक्रिय संक्रमित मध्ये ३ सय २५ जना आईसीयु र ५० जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा पाँच सय १५ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । कोरोना संक्रमण मुक्त हुनेको संख्या ९१ दशमलब पाँच प्रतिशत रहेको छ ।

कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १७ लाख १९ हजार ८ सय २८ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले देशभरका क्वारेन्टिनमा ६ सय १८ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ५४ पुगेको छ ।