काठमाडौं : प्यूठानबाट काठमाडौं आउँदै गरेको जीप त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । लु एक च ९७३१ नम्बरको जीप बिहीबार बिहान चितवनको इच्छाकामना गाँउपालिका चार नाम्दी खोला नजिकैबाट त्रिशूलीमा खस्दा चालक सहित दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जीप चालक सुर्य केसी र यात्रु प्युठानको झिमरुक गाउँपालिका–पाँच खहरेकी जमुना रोका रहेकी छिन् । चालकको ठेगाना खुलेको छैन । उनकी उनकी ११ वर्षीया छोरी जेनिसा रोक्का नदीमा बेपत्ता छिन् । उनको प्रहरीले खोजी जारी राखेको छ ।
जीप नदिमा खस्दा तीन जना बेपत्ता भएकोमा दुई जनाको शव प्रहरी र गोताखोरको टोलीले निकालेको हो । बेपत्ता जेनिसाको सशस्त्र प्रहरी शिक्षालय कुरिनटारको टोलीले खोजी जारी राखेको छ ।
जमुनाका श्रीमान मुकुन्दराज रोकाको भने घाइते अवस्थामा उद्दार गरिएको छ । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् । छोरीको उपचारका लागि रोका दम्पत्ती काठमाडौं आउँदै गर्दा दुर्घटनामा परेका हुन् । सडकबाट करिब १ सय पचास मिटर तल त्रिशूली नदीमा खसेर नदीमा डुवेको अवस्थामा छ । जीपलाई सुरक्षाकर्मीले बाहिर निकाल्ने प्रयास गरिरहेका छन् ।