काठमाडौं : प्यूठानबाट काठमाडौं आउँदै गरेको जीप आज बिहान त्रिशूली नदीमा खस्दा आमाछोरी सहित तीन जना बेपत्ता भएका छन् । लु एक च ९७३१ नम्बरको जीप बिहीबार बिहान चितवनको इच्छाकामना गाँउपालिका पाँचबाट त्रिशूलीमा खसेको हो ।
गाडीका चालक सूर्य केसी, यात्रु प्युठानको झिमरुक गाउँपालिका–पाँच खहरेकी जमुना रोका र उनकी एघार वर्षीया छोरी जेनिसा रोक्का नदीमा बेपत्ता भएका छन् । जमुनाका श्रीमान मुकुन्दराज रोकाको भने उद्दार गरिएको छ ।
उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।
छोरीको उपचारका लागि रोका दम्पत्ती काठमाडौं आउदै गर्दा दुर्घटनामा परेका हुन् । बेपताको खोजीमा गोताखोरसहितको सुरक्षाकर्मी टोली परिचालन गरिएको छ । बेपत्ता जीप पनि फेला परेको छैन ।