काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादमा सहमति जुटाउन नेताहरुले सक्रियता बढाएका छन् । सचिवालय बैठक दश दिनका लागि स्थगित भएपछि नेताहरु छलफलमा जुटेका हुन् ।
सोही क्रममा आज नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई नेतासँग पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका छन् । अध्यक्ष दाहालले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलसँग छलफल गरेका हुन् ।
धुम्बाराहीमा भएको छलफलमा ओली निकट नेताहरुले यसअघि दाहालले ओलीलाई आरोप लगाउँदै तयार गरेको प्रतिवेदन फिर्ता लिएर समस्या समाधानको वाटोमा अघि बढन आग्रह गरेका छन् ।
दाहालले भने आफ्नो प्रस्तावको विषयमा अब पार्टीको वैधानिक निकाय सचिवालय, स्थायी समिति र केन्द्रिय समितिमै छलफल हुने भन्दै फिर्ता नहुने अडान दोहोर्याएका छन् । नेकपाको सचिवालयको बैठक मंसिर १३ गते बोलाइएको छ ।
सो बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि आरोप लगाएर पेश गरेको प्रतिवेदनको जवाफ पेश गर्ने भएका छन् । अध्यक्षद्वयले एक अर्कालाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि सहमतिमा अघि बढ्नुपर्नेमा दोस्रो तहका नेताहरुले जोड दिएका छन् ।