एजेन्सी : भारतको दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना गराइने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइने बताएका हुन् ।
मास्क लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले बेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको उनले बताए । यसअघि पाँच सय रुपैयाँ मात्रै जरिवाना तोकेको थियो । तर मानिसहरुले बेवास्ता गर्न थालेपछि जरिवाना शुल्न बढाइएको दिल्ली सरकारले जनाएको छ ।
दिल्लीमा अहिले कोभिड १९ महामारीको दोस्रो लहर फैलिँदै गएको छ । यसैगरी भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यू लगाइने भएको छ । समाचार संस्था पिटिआईका अनुसार अहमदाबादमा कोरोना संक्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कफ्र्यू लगाउने निर्णय गरेको हो । राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी भएको हो ।
कर्फ्यू कहिलेसम्म जारी रहन्छ भन्ने खुलाइएको छैन । गुजरातमा अहिलेसम्म ३८३० मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अहमदाबादमा मात्रै अहिलेसम्म ४६ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् ।