पहिरोका कारण १५ घर विस्थापित

0

रत्ननगर, १४ साउन । वर्षापछि पहिरो खस्न थालेपछि चितवन शक्तिखोर नाइबन्दीका १५ घर विस्थापित भएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले विस्थापित भएकाहरुको आजै शक्तिखोरको फेदीमा व्यवस्थापन गर्न लागिएको बताउनुभयो । सो क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएकाले रातिदेखि नै स्थानीय जनताले घर छाड्न थालेको प्रजिअ सिंहले बताउनुभयो । पहाडी क्षेत्रका विभिन्न स्थानमा ठूल्ठूला पहिरो गएको स्थानीयवासी निमबहादुर गुरुङले बताउनुभयो ।
सो क्षेत्रमा भूकम्पले असर गरेको क्षेत्रमा पहिरो खसेको हो । चितवनको पहाडी क्षेत्रका दर्जनाँै स्थानमा पहिरो खसेको छ । आजै चितवनका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले विभिन्न क्षेत्रको अनुगमन गरेको थियो ।
यस्तै, रातिदेखि आएको बाढीले पदमपुरमा दुई दर्जन घर डुबाएको स्थानीय जनताले बताएका छन् । पिठ्वाका सुकुम्बासी बस्तीसमेत डुबानमा परेको छ । सौराहाका दर्जन बढी पव- रेस्टुराँसमेत डुबेका छन् । बाढी र पहिरोका कारण अहिलेसम्म चितवनमा एक जनाको मृत्यु र एकजना हराइरहेको प्रहरीले जनाएको छ । चितवन सिद्धिकी–६ वर्षीया अरुणा चेपाङको मृत्यु भएको हो ।
चितवनको काउलेमा शुक्रबहादुर चेपाङलाई खोलाले बगाएको स्थानीय जनताले बताए पनि मृत्यु भएको भनेर पुष्टि भने अझै नभएको प्रजिअ सिंहले बताउनुभयो । सो क्षेत्रमा अहिले प्रहरी पठाइएको छ ।

Leave A Reply

Your email address will not be published.