स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ ।
दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा- डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।
पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये ८४३ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।