राप्रपालाई धोई–पखाली कांग्रेस

काठमाडौं, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा १३औं महाधिवेशनमा भाग लिने गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको प्रचार रप्रपाभित्र ब्यापक बन्दै गएको छ । समाचार स्रोतका अनुसर कांग्रेस प्रवेशको विषयमा मन्त्री थापा र कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाबीच धेरै चरणमा कुरा भइसकेको छ । केन्द्रीय सदस्य डा.शेखर कोइरालामार्फत कुरा अघि बढेको बताईन्छ ।
कांग्रेस प्रवेश गरेपछि मन्त्री थापाको हैसियत के हुने भन्ने टुंगोसमेत लागिसकेको बुझिएको छ । मन्त्री पद कायमै रहनुपर्ने र केन्द्रीय सदस्य पाउनुपर्ने थापाको सर्तलाई कांग्रेस सभापति कोइरालाले सहर्ष स्वीकारिसकेका छन् । गृहजिल्ला धनकुटा कांग्रेसबाट पनि ठूलै समूहले थापालाई सम्मानजनक ठाउँ दिएर पार्टी प्रवेश गराउन यसअघि नै सुझाव दिएको थियो । थापालाई कांग्रेस प्रवेश गराउनसके धनकुटाका दुवै निर्वाचन क्षेत्र सधैं कांग्रेसले जित्ने सिफारिस जिल्ला तहबाटै आएको छ । यस्तो सिफारिसका सूत्राधार मन्त्री थापा स्वयं हुन् ।
समाचार स्रोतका अनुसार मन्त्री थापालाई कांग्रेस प्रवेश गराउन कोइराला परिवारमा लबिङ गर्नेहरूमा इन्दिरा थापा, कमोट फागा, हरि अधिकारी, घनध्वज श्रेष्ठ, आनन्दसन्तोषी राई, शरण राईलगायतका छन् । सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल पनि यो अभियानमा मिसिएका छन् । उनको पनि पुख्र्यौली घर धनकुटा नै हो । २०१५ सालको आमनिर्वाचनबाहेक धनकुटामा नेपाली कांग्रेसले चुनाव जितेको रेकर्ड छैन । २०४८ सालयताका आमनिर्वाचनमा धनकुटा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसको पोजिसन तेस्रो रहँदै आएको छ ।
कांग्रेसका पुराना नेता बलबहादुर केसीसँग कुनै बेला नाम जोडिएकी महिला इन्दिरा थापा या तरुण दलका पूर्व केन्द्रीय सदस्य कमोट फागोमध्ये एकजनालाई पार्टी जिल्ला सभापति बनाउने आफ्नो योजनालाई सफल पार्न सभापति कोइरालाले मन्त्री थापालाई आग्रह गरिसकेको र मन्त्री थापाले त्यसैअनुसार साधन स्रोत परिचालन गरिरहेको स्रोतले जनाएको छ । केही दिनअघि धनकुटाको सिंधुवा नजिकैको मारेकटहरेमा इन्दिरा थापाले आयोजना गरेको स्वास्थ्य शिविरका प्रमुख आर्थिक लगानीकर्ता मन्त्री थापा नै थिए । उक्त शिविरमा मन्त्री थापा र कांग्रेस नेता शेखर कोइरालालाई क्रमशः प्रमुख अतिथि र विशिष्ट अतिथि बनाइएको थियो । इन्दिरालाई लायन्स क्लब धनकुटा क्षेत्रको अध्यक्ष बनाउन पनि मन्त्री थापाकै योगदान रहेको छ । उक्त क्लबको प्रमुख सल्लाहकारमा मन्त्री थापा आफैं छन् भने सल्लहकारमा शेखर कोइराला र मृदुला कोइराला छन् ।
तर मन्त्री थापा कार्यकर्तासहित कांग्रेस प्रवेश गर्छन् या एक्लै गर्छन् ? त्यसको निक्र्योल भइसकेको छैन । उनी र उनका बाबु सूर्यबहादुर थापाको धनकुटे राजनीति अहिलेसम्म थामेर राखिदिने मात्रै होइन, चुनावसमेत जिताइदिने भूमिकामा कुमारबहादुर थापा, पदमबहादुर बस्नेत र टीका घिमिरे हुन् । तर यी तीनैजना यतिबेला सुनिलसँग रुष्ट छन् ।