काठमाडौं : ३५२ वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिर भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्मित रानीपोखरीको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी छिन् ।
२०७२ को विनासकारी भूकम्पका कारण रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा पूर्णरुपमा क्षति भएको थियो । त्यसपछि बिभिन्न अवरोध पार गर्दै रानीपोखरी र बालगोपालेश्वर मन्दिरको निर्माणले पूर्णता पाएको थियो ।
भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनः निर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी थिइन् । रानीपोखरीको आज विशेष कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन १७२७ सालमा रानीपोखरीको निर्माण गरिएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । राजाले आफ्ना छोरा चक्रवर्तेन्द्रकै सम्झनामा यो पोखरी बनाएका हुन् ।