अब कोरोना संक्रमितको उपचार खर्च सरकारले नव्यहोर्ने

काठमाडौं : सरकारले अवदेखि कोरोना संक्रमितको परीक्षण र उपचार खर्च नव्यहोर्ने भएको छ । आइतबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले अस्पताल भर्ना भएका कोरोना संक्रमितबाट उपचार खर्च लिने निर्णय गरेको हो ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले अवदेखि सबै सरकारी तथा निजी अस्पतालले कोरोना परीक्षण तथा उपचारका लागि शुल्क लिने जानकारी दिए ।

यसअघि सरकारले कोरोना संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो । प्रवक्ता गौतमका अनुसार अब सरकारले अति अपांगता, जेष्ठ नागरिक, सरसफाईकर्मी , सुरक्षाकर्मी र अग्रपंक्तिमा खटिने कर्मचारीको मात्रै उपचार खर्च व्यहोर्नेछ ।

उनीहरुले बीमा गरेको भएमा बीमाबाट परीक्षण तथा उपचार खर्च कटाउने पनि मन्त्रालयले जनाएको छ । त्यस्तै सरकारले सबै निजी, सामुदायिक, मेडिकल कलेज तथा सरकारी अस्पताललाई कुल शैय्याको ५० प्रतिशत शैय्या कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ ।

लक्षण नभएका कोरोना संक्रमितलाई अस्पतालबाट १० दिनमा डिस्चार्ज गर्ने निर्णय समेत सरकारले गरेको छ । डिस्चार्ज भएपछि एक साता अनिवार्य होम आइसोलेसनमा बस्नुपर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि चौध दिनमा डिस्चार्ज गर्ने नियम बनाइएको थियो । कोरोनाको उपचारका लागि रेम्डिसिभिर औषधि मन्त्रालयमा सूचीकृत अस्पतालहरूको फार्मेसीबाट विक्री वितरण गर्ने व्यवस्था पनि मन्त्रालयले मिलाएको छ । कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुलाई दसैंमा नवमी, दशमी र एकादशी तीन दिनबाहेक नियमित सेवा सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।