हुम्लामा नेपाली भूमि नमिचेको चीनको दाबी
काठमाडौं : चीनले नेपालको भूमि नमिचेको र हुम्लासँग सीमा जोडिएको आफ्नै भूभागमा भवन निर्माण गरिएको दाबी गरेको छ । चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्ने बुराङ्ग काउन्टीका अधिकारीले चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग अन्तर्वार्तामा सो भूमि चीनकै रहेको दाबी गरेका हुन् ।
नयाँ निर्माण गरिएको गाउँ बुराङ्ग काउन्टीको अलिमा रहेको दाबी चिनियाँ अधिकारीको छ । चीनले गत मे महिनामा भवनहरु निर्माण गर्नुभन्दा पहिला विस्तृत रुपमा अध्ययन तथा सर्वेक्षण गरेको दाबी गरेका छन् ।
सो सर्वेक्षणबाट चिनियाँ क्षेत्र नै रहेको पुष्टि भएपछि मात्रै भवन बनाइएको दावी ग्लोबल टाइम्ससँग अन्तर्वार्तामा गरिएको छ । निर्माण गरिएका भवन सबैभन्दा नजिकको भवन दुई देशको सीमाभन्दा एक किलोमिटर टाढा रहेको चिनको भनाइ छ ।
नेपाली पक्षबाट सीमा यकिनमा केही कमजोरी भएको हुन सक्ने समेत चीनले जनाएको छ । सरकारले चीनबाट भूमि नमिचिएको बताए पनि हुम्लाका स्थानीयले भने सीमा मिचिएको उल्लेख गर्दै आएका छन् ।