काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नियुक्त गरेका तीन मन्त्रीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएर नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्रीका रुपमा महासचिव बिष्णुप्रसाद पौडेल, शहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा लिलानाथ श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
यसमध्ये नेकपाका महासचिव पौडेलको विषेश विश्लेषण भइरहेको छ । किन पनि भने महासचिव पौडेल नेपाली राजनीतिमा एक चतुर नेता र नेकपाभित्र शक्तिशाली भूमिका छन् । नेकपाभित्र देखिने अनेकौ विवाद हल गर्न पौडेल अग्रमोर्चामा देखिने गरेका छन् । उनको पदीय भूमिका र समन्वयमा बढी रुचि देखाउने स्वभावले पनि पौडेल हरेक विवाद सुल्झाउने केन्द्रभाग देखिने गरेका छन् । पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाएर अर्थमन्त्रालय खाली गर्ने, गएको मंसिरमै अब यो कार्यकालभर सांसद हुन्न भनेका उपाध्यक्ष वामदेव गौतमलाई सांसद बन्ने रुचि जगाउँदै आफू अर्थजस्तो शक्तिशाली मन्त्री बन्नुमा आफैले ‘ब्यूह’ रचेको उनलाई आरोप लाग्ने गरेको छ ।
आरोप र पृष्ठभूमि जस्तासुकै भएपनि अर्थमन्त्री नियुक्त पौडेलको यात्रा सहज भने देखिदैन । किनभने, दुई तिहाइ जनमत प्राप्त सरकारसँग जनअपेक्षाको सगरमाथा नै रहेको तथ्य कसै सामु छिपेको छैन । विद्वान अर्थमन्त्रीको संज्ञा पाएका युवराज खतिवडाप्रति उत्पन्न आक्रोश मत्थर पार्नु पौडेलका लागि सजिलो छैन । तीन आर्थिक वर्षको बजेट खतिवडाले ल्याएकाले पौडेलसँग एक वर्षको बजेट ल्याउने समय मात्रै छ ।
किनभने, अन्तिम वर्षको बजेट निर्वाचनतर्फ केन्द्रीत गर्नुपर्ने हुन्छ । तसर्थ, पौडेलले लिने नीति उनको व्यक्तिका लागि मात्रै नभएर नेकपा र मुलुककै लागि समेत निर्णायक हुनेछ । किनभने, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि नेकपाले पहिलो पटक ऐतिहासिक अवसर पाएको छ । तर, अहिलेसम्म त्यो अवसर उपयोग गरेको पाइदैन । अर्कातिर कोरोना महामारीले विश्वकै अर्थतन्त्र तहसनहस भइरहेका बेला नेपाल जस्तो मुलुकलाई सजिलै सामान्य अवस्थामा फर्काउदै नेकपालाई फेरि पनि शक्तिमा ल्याउन पौडेललाई पक्कै सजिलो हुने छैन ।
तर, मन्त्रीका रुपमा उनले राखेको पहिलो मन्तव्य भने पत्रकारहरुबाट लुकेर दिएका छन् । तर, बाँकी मन्त्रीहरुले भने आफूले गर्ने कामबारे पत्रकाहरुलाई जानकारी दिएका छन् । नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सांस्कृतिक सभ्यता जोगाउँदै विकासको काम अघि बढाइने बताए । उनले यसअघि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका वसन्तकुमार नेम्वाङले शुरु गरेको सकारात्मक कामलाई निरन्तरता दिँदै आफ्ना कार्यक्रम अघि ल्याइने बताए ।
मन्त्री श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसूदन अधिकारीलगायत मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभाग र महाशाखा प्रमुख र कार्यरत कर्मचारीले स्वागत गरेका थिए । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर श्रेष्ठ, प्रदेशसभा सदस्य अजयक्रान्ति शाक्य, केशव पोखरेललगायतको पनि कार्यक्रममा सहभागिता थियो ।