नवनियुक्त तीन मन्त्रीले लिए शपथ
काठमाडौं : नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
पौडेल रुपन्देही, कृष्णगोपाल काठमाडौं र लीलानाथ सिराहाबाट निर्वाचित सांसद हुन् । सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी ओली तथा संबैधानिक निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
मन्त्रीमण्डल पुर्नगठनमा असन्तुष्ट नेकपा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधब नेपाल भने समारोहमा सहभागी भएनन् । नवनियुक्त मन्त्रीले आज नै सम्बन्धित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । मन्त्रालय हेरेफेर भएर सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका पार्वत गुरुङले पनि पदभार ग्रहण गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले ११ औं पटक बुधबार मन्त्रीमण्डल विस्तार गरेका हुन् । मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछिको मर्यादाक्रममा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारिएको छ ।
यसअघि सम्हालिरहेको रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले सम्हालेका छन् । अन्य मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारी यथावत् छ । एकलौटी रुपमा मन्त्रिमण्डल विस्तार गरिएको भन्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधब नेपालले असन्तुष्टि जनाएका छन् ।