स्पेनले आप्रवासी माथि कडाई गर्ने, कोरोना संक्रमणको जोखिम मोलेर नेपालीहरु धमाधम पोर्चुगल जादै
कृष्ण खनाल “मदन”

कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ ।
स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तर्वातामा बताए अनुसार गैरकानूनी रुपमा बसेका आप्रवासीलाई देश निकाला गर्ने र आर्राइगो सोसियललाई खारेज गर्ने भएको छ ।
उनले भने आर्राइगो सोसियल अन्तरगत अध्यागमन अर्टिकल १२४.२ लाई खारेज गरिने छ । ३ वर्ष गैरकानूनी रुपमा लुकेर बसेकाले १ वर्षको कामको कन्ट्राकका आधारमा आर्राइगो सोसियलको लागि निवेदन दिने सकिने नियम थियो ।
गठबन्धन सरकारका उपप्रधानमन्त्री इग्लेसियसका अनुसार आउने वर्षदेखि आप्रवासी सम्बन्धी नयाँ परिवर्तन गरिने छ । योसँगै आप्रवासीका कारण स्पनिश जनताको बेरोजगार भए भन्ने समस्या अन्त्य हुने उनले बताए । साथै उनका अनुसार पासपोर्टबाट इम्पाद्रोनामिएन्तो गरेका सबै आप्रवासीको विवरण खारेज गरिने छ । यसअघि निशुल्क स्वास्थ्य सुविधा लिन पासपोर्टबाट हेल्थ कार्ड ( तारखेता सानीतारिआ) बनाउन बन्देज जस्तै इम्पाद्रोनामिएन्तो गर्न दिने व्यवस्थ हटाइने छ ।
गत महिना गठबन्धन सरकारका प्रधानमन्त्री पेद्रो सान्चेसले संसदमा आर्राइगो सोसियल खारेज लगायत कानुनी रुपमा आप्रवासी नियममा सुधार गर्ने बताएका थिए । कोरोना संक्रमण नियन्त्रणसँगै सरकारले आप्रवासी माथि कडाई गरिने उनले उल्लेख गरेका थिए ।
उता आप्रवासी माथि कडाई गर्ने तयारी गरेसँगै स्पेनमा तीन वर्षमा कार्ड बनाउन गैरकानूनी रुपमा बसेका नेपालीहरु समस्यामा परेका छन् । कोरोना संक्रमण बढेको बेलामा पनि सयौ नेपालीहरु धमाधम पोर्चुगल जान शुरु गरेका छन् । कागजात बनाउन सजिलो मुलुकमध्ये पोर्चुगल एक हो । यहाँ प्रकृया पुगेको एक वर्षमा अस्थायी रेसीडेन्सी कार्ड बनाउन सकिन्छ ।
जर्मनीको भिसा लगाई दुई वर्ष अगाडि स्पेनको बार्सिलोनामा आएर बसेकी पुनम लामा पोर्तुगलको राजधानी लिस्बनमा पुगेकी छिन्। उनले भनिन्; स्पेनमा कामको समस्या त्यो माथि कागज बन्ने, नबन्ने कुनै ग्यारेन्टी छैन्, लाखौं लाख स्पनिशहरु नै वेरोजगार छन्, कार्ड बनाउन बन्द गर्ने हल्ला भएर लिस्बनमा चिनेजानेकोमा आएकी हुँ । यहाँ प्रक्रिया शुरु भएको छ । पहिले नै आउन पर्ने थियो, दुई वर्ष समय खेर गयो । यहाँ आउँदा लागेको ऋण छ, मेरो पुर्व श्रीमानलाई नै १२ लाख बुझाएर भिसा लगाइएकी थिए । भिसा लिन धेरै दु:ख पाए, भिसा लगाउन सजिलो छैन् त्यो माथि यहाँ कार्ड बनाउन समस्या छ ।