१५ बर्षको कलिलो उमेरमा नै भबिष्यताको भविष्य खोसियो

0

बसन्त रानाभाट, स्पेन,

नृत्यमा उनको सोख थियो। दुई महिना अघिमात्र ईनासको नृत्य प्रतियोगिताका लागि आफ्नो भिडियो बनाएर पठाईन्। पहिलो चरण पार गर्दै दोस्रो चरणको लागि पनि भिडियो उनले आयोजकलाई पठाईन्। तर उनको दोस्रो भिडियोको नृत्य त्यति जोशिलो र फूर्ति थिएन।

जुलाईको पहिलो हप्तादेखि ढाड दुख्ने समस्या देखियो। मुखमा दुख्ने र घाटीमा विमिरा जस्तो थियो । कुमहरु दुखेपछि उनि हस्पिटल पुगिन्। इमर्जेन्सीबाट डाक्टरले औषधी दिएर पठाईदिए। फेमिली डाक्टरले पनि ठिकैछ भने। औषधी खाएपछि सन्चो भएको जस्तो भयो । तर ५,६ दिनपछि कान सन्चो नभएपछि फेरि इमर्जेन्सिमा पुगिन्। डाक्टरले पुन:औषधी लेखिदिए । तर यसपटक निको भएन। अन्तत: पुन अस्पतालमा उनको चेकजाँच भयो। उनलाई ब्लड क्यान्सर छ भनियो ।अर्को अस्पतालमा रिफर गरियो। त्यहाँबाट निश्चित गरियो । आलिकान्ते स्थित अस्पतालमा ४२ दिनसम्म उनको आईसियुमा उपचार भयो। तर स्वास्थ्यमा सुधार आएन। अन्तत:१५ बर्षको कलिलो उमेरमा नै भबिष्यता न्यौपानेको गत बिहिबार उपाचारकै क्रममा निधन भयो।

झन्डै डेढ महिनाअघि अस्पताल भर्ना भएकी उनि घर फर्कीनन्। सदाका लागि बिदा भईन्।उनका पिता भरतराज न्यौपाने आँफै पनि गीत संगीतप्रति रुचि र चासो राख्छन्। स्पेनमा सामाजिक रुपमा पनि चिनिएका न्यौपानेलाइ छोरी गुमाउँदा ठुलो ब्रजपात आईपरेको छ। दुईबर्ष अघि परिबारलाई पनि उनले स्पेनमै ल्याएका थिए। तीन छोरीका पिता न्यौपाने अहिले पहिलो सन्तान गुमाउनु पर्दा भावबिहोल बनेका छन्। भरतपुर ८ चितवन मूल घर भएका न्यौपानेको परिबार स्पेनको कोष्टाब्लाङ्का स्थित आल्तियामा बस्दै आएका छन्। भबिष्यतालाई १५ दिन अघि आमा लक्ष्मी पन्त न्यौपानेले अस्पतालमै भेटेकी थिईन्। बोल्न नसकेपनि छोरीले आमाको हात समातेर आँशु झारेकी थिईन्। आमा र छोरीको त्यो नै अन्तिम भेट थियो।

एकातिर कोरोनाको कहर। अर्कोतिर छोरीको उपाचार। दुई महिना यता न्यौपानेले आँफूलाई तनावबीच नै झेले। दैनिक ६० किलोमिटर टाढा रहेको अस्पतालमा छोरीलाई भेट्न पुग्थे। १७ दिनसम्म भेन्टिलेटरमा राखेपछि भबिष्यताको होस आएको थियो। भेन्टिलेटरबाट निकालियो । तर फेरि फोक्सोमा इन्फेक्सन देखियो। र पुन: भेन्टिलेटरमा राखियो । होसमा छदा उनले बोल्ने कोशिस गरिन्। “बाबा मलाई एकदमै भोक लागेको छ भनिन्।” तर उनलाई बोल्न मनाही थियो। “छोरी तिमि छिट्टै ठिक हुन्छौ। केहि समय अस्पताल बस्नुपर्छ। अहिले बोल्न हुँदैन भनेपछि उनले मुन्टो हल्लाउदै आँखाबाट आँशु झारेकि थिईन्।

‘आजभन्दा साढे दुई वर्षअघि नेपालमा हुँदा आत्तिने रिँगटा लाग्ने भएपछि हस्पिटल लिएर गइयो । एकहप्ता हस्पिटल राखियो । त्यस्तो केही देखिएन। दिल्लि गएर भिसा लाएपछि सबै यहि आयौ । यहाँ होलबडी चेकअप गरायौ । केही देखिएन । उसको समस्याको बारेमा भन्दा हार्मोनहरु चेञ्ज हुने बेलामा बच्चालाई त्यस्तो केही हुन्छ भने। हामी ढुक्क भएर आयौ ।गएको वर्ष टन्सिल भएजस्तो देखियो । चेक गर्दा केही छैन भनियो। औषधी खायो ठिक भयो । तर अहिले एक्कासी अप्रत्यासित घटना घट्यो । छोरीलाई गुमायौं। “ न्यौपानेले भावुक हुँदै बताए।

सोमबार उनको स्पेनको आलिकान्तेमा नै अन्तिम संस्कार हुँदैछ। नेपाल स्पेन समाज कोष्टाब्लान्काले अन्त्यष्टिका लागि कागाजी प्रक्रिया मिलाएको छ। शव ब्यबस्थापन तथा परिबारको सहयोगार्थ स्पेनका बिभिन्न शहरहरुमा रकम संकलन भईरहेको छ। समाजका अध्यक्ष अकल बोहोराका अनुसार कोस्टा ब्लाङकामा मात्र झण्डै ६ हजार युरो संकलन भएको छ। एनआरएनए स्पेनले पनि मूल सहयोग समिति गठन गर्दै सहयोगका लागि संघसंस्थाहरुलाई आहवान गरेको छ।

अन्तिम संस्कार र श्रदान्जलीका लागिमिति :

सोमबार २८ सेप्टेम्बर २०२०समय : १:०० देखि २:३० सम्म

स्थान – Tanatorio CrematorioMarina BaixaCtra. Nacional 332 km 142,3,03570 Villajoyosa, Alicante

Leave A Reply

Your email address will not be published.