बन्दको प्रभाव राजधानीमा बिहानैदेखि

काठमाडौं, ८ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव राजधानीमा देखिएको छ। बन्दले शुक्रबार बिहानैदेखि सडकमा सार्वजनिक यातायातका कुनै पनि सवारी साधन चलेका छैनन्। छिटफुट रुपमा मोटर साइकल र एम्बुलेन्स, प्रेसलगायतका केही सवारी मात्रै सडकमा चलेका चलेका थिए । तर दिउँसो हुँदै गएपछि ट्याक्सी र अन्य सार्वजनिक सवारी साधन पनि फट्याफुट सडकमा चलेको देखियो । बन्दकर्ताले सडकमा सवारी साधन नचालउन, पसल बन्द गर्न दबाब दिएका छन्। स्कूल र कलेज पनि बन्दको डरले बन्द गरिएका छन्। अस्पताल जाने विरामी तथा अन्य जरुरी कामका यात्रुहरुलाई सकस भएको छ। कार्यलय जाने कर्मचारी पैदलै हिडेर गन्तव्यमा पुगेका छन्। लामो दुरीमा बस बीच बाटोमा रोकिदा ठूलो संख्यामा यात्रुहरु अलपत्र परेका छन्।
बन्द गराउँदै हिड्ने नेता कार्यकर्तालाई प्रहरीले कोटेश्वर, बानेश्वर, चाबहिल क्षेत्रबाट दर्जनभन्दा बढीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइली, माओवादी पोलिटब्युरो सदस्य तिलक परियार, केन्द्रीय सदस्य चिरञ्जीवी ढकालसहित दर्जन बढी नेता कार्यकर्ता रहेका छन्। बन्दकर्ताले भक्तपुरको राधेराधेमा बा ७ प ३८५७ नम्बरको स्कार्पियो र जडिबुटीमा एउटा बसमा आगजनी गरेका छन्। त्यस्तै लोकन्थली र सानोठिमीमा बा ७ प ७८३९ नम्बरको मारुती भ्यान तथा बा १३ प २०३ नम्बरको कार बन्दकर्ताले तोडफोड गरेका छन्।
दोलखाको चरिकोटमा बन्द गराउँदै हिड्ने विप्लव नेतृत्वको नेकपा माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा माओवादीका दोलखा इन्चार्ज संञ्जीव नेपाली, सचिवालयहरु अर्जुन योगी, राजन धनुके, राम ढुंगेल र नवराज अर्याल रहेका छन् । यस्तै बिहान महाराजगञ्ज चोकमा डिलक्स बसमा बन्दकर्ताले तोडफोड गरेका छन्। उनीहरु राजधानीको चोकचोकमा भेला भएर बन्दको पक्षमा प्रदर्शन गरिरहेका छन्।