बागलुङ बाढी पहिरो : मृत्यु हुनेको संख्या १४ पुग्यो, ४ जनाको सनाखत
बागलुङ : बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका नौ बोबाङमा मृत्यु भएका चौध जना मध्ये चार शवको सनाखत भएको छ । शव सनाखत हुनेमा ढोरपाटन नौ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेका प्रहरीले जनाएको छ ।
शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । पहिरोमा परी ३८ जना बेपत्ता छन् । घटनामा बेपत्ताको बिहानैदेखि खोजी शुरु भएको छ । रातको समयमा आएको बाढी र पहिरोमा परि धेरैले ज्यान बचाउन नसकेको प्रहरीले जनाएको छ । केहीले भने भागेर ज्यान जोगाएका छन् ।
बगाएकामध्ये केहीको अधिकारी चौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएको छ । बाढीले ४० घर गोठ पूर्ण रुपमा ध्वस्त बनाएको छ । बाढी प्रभावितलाई बाग्लुङ क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष दोर्ण कुवँर सहितको टोली हेलिकप्टरबाट पुगेर हिजो राहत बितरण गरेको छ ।
ताराखोला गाउँ पालीकाले पनि नगद सहयोग गरेको अध्यक्ष प्रकाश घर्तीले बताए । बाढीले ढोरपाटनको बडा नम्बर ६ देखि ९ सम्म ठुलो जनधनको क्षति गरेको छ । ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि ताल फुटेर एकैपटक बाढी आउँदा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन ।