ललितपुरमा आज दिनभर कर्फ्यू, रातो मछिन्द्रनाथको रथयात्रा भदौ २६ गतेसम्ममा सक्ने निर्णय
काठमाडौं : रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीवार प्रहरीसँग झडप भएपछि आज दिनभर ललितपुरमा कर्फ्यू जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले ललितपुरले विहान चार बजेदेखि बेलुका दश बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।
कर्फ्यू ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा लागू हुने प्रशासनले जनाएको छ । प्रशासनले केही उच्छृङ्खल समूह र व्यक्तिहरूले कठिन परिस्थितिको नाजायज फाइदा उठाइ धार्मीक, सांस्कृतिक विश्वासमा खलल पुर्याइ शान्ति सुरक्षा भङ्ग गर्नेगरी गैरकानुनी हर्कत गरेको भन्दै कर्फ्यू लगाएको हो ।
कर्फ्यू लगाइएको समयमा तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन र जुलुस निकाल्न निषेध गरिएको छ । तोकिएको क्षेत्रमा कर्फ्युको समयमा घरबाट बाहिर निस्किएमा सुरक्षा अधिकारीले गोली समेत हान्न सक्ने आदेशमा उल्लेख छ , बिहीवार सयौँको संख्यामा उपस्थित भएका मानिसहरूले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएपछि प्रहरी र प्रदर्शनकारीविच झडप भएको थियो । सो क्रममा प्रहरीमाथि आक्रमण गर्ने नौ जना पक्राउ परेका छन् ।
रथयात्रा तय
लामो समय विवादित बनेको मच्छिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सकिने भएको छ । बिहीबार आक्रोशित भीडले निषेधाज्ञा तोड्दै रथ तान्न थालेपछि जिल्ला प्रशासन कार्यालय ललितपुमा सम्बन्धित सरोकारवालाको बैठकले जात्रा भदौ २६ गतेसम्ममा सक्ने निर्णय गरेको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार २१ गते क्षमा पुजा गर्ने, २२ गते रथ बाट मुर्ति तल झार्ने र प्रतिकात्मक रुपमा रथ तान्ने निर्णय भएको छ । उपयुक्त साईत हेरेर रथबाट मुर्ति निकालेपछि २६ गते सम्म रथ बुङमति पुर्याइने भएको छ ।
चैत २७ गते रातो मच्छिन्द्रनाथको महास्नानपछि वैशाख १२ गते रथमा राख्नुपर्नेमा कोरोना संक्रमणका कारण गएको साउन १० गते मात्र मूर्तिलाई रथमा विराजमान गरिएको थियो ।
सरकारले निषेधाज्ञा लागू गरेपछि अहिले रातो मच्छिन्द्रनाथको मूर्तिसहितको रथ पुल्चोकमा अलपत्र अवस्थामा थियो । हिजो स्थानीयले केही अघि बढाएको रथ अब विधिपूर्वक अघि बढाएर यो बर्षको जात्रा समापन हुने भएको छ ।