काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गर्ने बताए ।
वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र परीक्षाको अभिन्न अङ्ग बनाउने धारणा राख्दै उनले वैकल्पिक सिकाइका लागि सरकारअन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरेको बताए ।
“मैले व्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव गरेको छु । प्रधानमन्त्रीले पनि त्यसलाई सकारात्मक लिनुभएको छ”, मन्त्री पोखरेलले भने, “त्यस्तो टेलिभिजनबाट बिहान माध्यमिक तह, दिउँसो आधारभूत तह र साँझ विश्वविद्यालय तहलाई सिकाइने व्यवस्था मिलाइनेछ ।”