कोरोनाबाट नेपालमा थप १२ जनाको मृत्यु, ११२० संक्रमित थपिए

0

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार नाघेको छ । विगत २४ घण्टामा १ हजार १ सय १० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको हो । पछिल्लो २४ घन्टामा १२ हजार ८ सय ७९ पीसीआर परिक्षण गर्दा ८ सय पुरुष र ३ सय २० महिलामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा एकैदिन एक हजार भन्दा बढि संक्रमित यसअघि मंगलबार, भदौ २ र भदौ ११ गते पुष्टि भएको थियो । उपत्यकामा ३ सय ८८ संक्रमित थपिएका छन । काठमाडौंमा सबैभन्दा बढी ३ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

त्यस्तै मोरङमा ५३, सुनसरीमा ७२, धनुषामा ६२, पर्सामा ४९, बारामा २३, सर्लाहीमा पचास जनामा संक्रमण देखिएको छ । त्यस्तै कास्कीमा २४, लमजुङमा १९, बाँकेमा ४२ र रुपन्देहीमा २७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना संक्रमण मुक्त भएका छन् । अहिलेसम्म ५६ प्रतिशत संक्रमित अर्थात् २३ हजार २ सय ९० जना निको भैसकेका छन् ।

अहिले देशभर १८ हजार १ सय ८ जना सक्रिय संक्रमित छन् । तिमध्ये १० हजार ४ सय ९३ जना संस्थागत आइसोलेशनमा र बाँकी ७ हजार ६ सय १५ जना घरमै छन् । विभिन्न आईसीयुमा १ सय ४४ र भेन्टिलेटरमा १८ जना उपचार गराइरहेका छन् । देशभरि क्वारन्टीनमा ६ हजार ७ सय ६६ जना रहेका छन् । कोरोना संक्रमण परीक्षणका लागि अहिलेसम्म ७ लाख १८ हजार ४ सय ३९ पीसीआर नमूना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छ महिला र छ जना पुरुष छन् । मन्त्रालयका अनुसार चितवनमा दुई, काठमाडौं, ललितपुर, तनहुँ, कपिलबस्तुमा एक–एक महिलाको मृत्यु भएको छ । त्यस्तै त्यस्तै काठमाडौंमा दुई, चितवन, भक्तपुर, बारा र धादिङमा एक–एक पुरुषको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.