रौतहटमा दुई सातामा तीन जनाको हत्या, फेरि भेटियो एक महिलाको शव

रौतहट : रौतहटमा पछिल्लो समय एक पछि अर्को हत्याको क्रम रोकिएको छैन । आइतबार साँझ एक दलित महिलाको हत्या भए पछि १६ दिन भित्रमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । गढीमाई नगरपालिका तीन मुसरिया गाँउको उखु खेतमा चालिस वर्षिया मिन्त्रा देवी बैठा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घाँटी सारीले बाँधेको अवस्थामा शव फेला परेकाल हत्याको आशंकामा छानविन अघि बढाइएको रौतहट प्रहरीले जनाएको छ ।

रौतहटमा साउन ३१ गते गरुडा आठ जिगंडवाका निरन्जन रामको हत्या भएको थियो । त्यसको चारदिनपछि माधवनारायण नगरपालिका दुई खेसरहियामा हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको थियो ।

निरन्जन रामको हत्या अभियोगमा पक्राउ परेका स्थानीय बिजय रामको पनि केही दिन अघि प्रहरी हिरासतमै मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये निरन्जन, बिजय र मिन्त्रा देवि बैठा तीनै जना दलित समुदायका हुन् ।

हिरासतमा ज्यान गुमाएका बिजय रामको विषयमा पछिल्लो समय गरुडामा परिवारजन, स्थानिय र दलित अगुवाहरुले प्रहरी विरुद्ध लगातार प्रर्दशन गर्दै आएका छन् । घटनाको गृह मन्त्रालयले समेत अनुसन्धान गरिरहेको छ ।