चितवन – जिल्लाको एकमात्र महानगर भरतपुर महानगरपालिका क्षेत्रभित्र तीन दिनमा २३ जना कोराना संक्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गर्ने निर्णय भएको छ ।
महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा शुक्रबार बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको संक्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
महानगरभित्र कोरोना संक्रमण तीव्र बनेपछि जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आह्वान गरिएको छ । अत्यावश्यक क्षेत्रलाई विशेष निगरानीसहित निश्चित समय सञ्चालन गर्न दिइने गरी लकडाउन गरिने जनाइएको छ ।
लकडाउन अवधिमा राजमार्गमा अतिआवश्यक सवारी मात्र चल्न दिने, दूध, तरकारी, मासुलगायतका अतिआवश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्री आवागमन पूरै बन्द गर्ने बताइएको छ ।
महानगरको विपद् व्यवस्थापन इकाइ, दमकल, नगरप्रहरी, महानगरका सीमित कर्मचारी परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गरिने महानगर प्रमुख दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।