काठमाण्डौ – प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले’ बुद्ध महान् भारतीय भएको’ भन्ने भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्तिमा गम्भीर आपत्ति जनाएका छन् ।
‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भू–भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ’ शर्माले ट्विट गर्दै भनेका छन् ।
भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिजद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले बुद्ध ‘महान् भारतीय’ भएको बताएका थिए ।
प्रधानमन्त्री ओलीको अव्यक्तिप्रति ध्यानाकर्षण
प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म नेपालको ठोरीमा भएको दोहो¥याएर बोलेको प्रसंगतिर संकेत गर्दै प्रवक्ता शर्माले भनेका छन्, ’राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन् । मूल विषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।’
‘बुद्ध नेपालमा जन्मेका हुन् भनेर संसारमा कहींबाट दर्ता प्रमाण हामीले मागेका छैनौं । भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि नेपाल बुद्ध भूमि हो भनेर स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भइसकेको छ । फेरि पनि आपत्तिजनक टिप्पणी अत्यन्तै दुःखद छ’ उनले लेखेका छन् ।
हालै मात्र प्रधानमन्त्री ओलीले राम भगवान भारतको उत्तर प्रदेश अयौध्यामा नभई नेपालमा जन्मिएको र अयोध्यापुरी चितवनमा जन्मिएका बताउँदै माडीस्थित भव्य मन्दिर बनाउन निर्देशन दिएका थिए ।
उनले कुनैपनि विषयमा हचुवाको भरमा टिप्पणी नगर्न समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।