स्पेनका पूर्व राजा ख्वान कार्लोस संयुक्त अरब इमिरेट्स (युएई) पुगेको दाबी गरिएको छ। देश छोड्ने निर्णय गरेको पूर्व राजा कार्लोस विशेष विमान मार्फत युएईमा अवतरण गरेको सार्वजनिक भएको तस्बिरमा देखिएको दाबी गरिएको छ ।
स्पेनिस सञ्चार समूह एनआइयुएसले सार्वजनिक गरेको तस्बिरमा पूर्व राजा कार्लोस अबुधाबीमा विमानबाट झर्दै गरेको देखिएको छ ।
गएको सोमबार कार्लोसले देश छाड्ने निर्णय गरेको स्पेनिस राजदरबारले जनाएको थियो । केही हप्ताअघि सुरु भएको भ्रष्टाचार अभियोगको अनुसुन्धानमा उनी पनि जोडिए छन् ।
८२ वर्षका पूर्व राजा कार्लोसले पत्र मार्फत देश छोड्ने जानकारी छोरा फेलिपेलाई गराएका थिए । फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गरेका थिए ।
पूर्व राजा कार्लोसले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीहरुले अन्तर्वार्ता गर्न चाहेमा आफू उपलब्ध रहेको बताएका थिए ।
गएको जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्व राजा ख्वानको संलग्नताबारे अनुसन्धान सुरु गरेको थियो ।
अति निपूर्णता पूर्वक स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रको मार्गमा ल्याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन हो ।