लिखुपिके ३ का क्यान्सर पीडित बस्नेतलाई पोखरेलको ५० हजार र रोक्काको १५ हजार सहयोग
काठमाण्डौ – सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका ३ स्ठायी घर भएका क्यान्सर रोगबाट पीडित विनोद बस्नेतलाई इटहरी नगरपालिका ७ सुनसरीका स्थायी बासिन्दा अवकाशप्राप्त बेलायती सैनिक तथा समाजसेवी नर कुमार पोखरेलले ५० हजार र लिखुपिके २ का दिपक रोक्काले १५ हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।
क्यान्सरपीडित बस्नेत भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् । आर्थिक अवस्था कमजोर भएका बस्नेतलाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले आफूले सहयोग गरेको समाजसेवी पोखरेलले जानकारी दिए ।
समाजसेवी पोखरेलको तर्फबाट पीडित बस्नेतलाई प्रदान गरिएको रकम लिखुपिके–२ निवासी दिपक रोक्काले बुधबार हस्तान्तरण गरेका थिए । बस्नेतको उपचारमा सहयोग गर्न रोक्काले पहलकदमी लिनुका साथै रोक्का स्वयम्ले बस्नेतको उपचारमा १५ हजार रुपैयाँ सहयोग गरी ६५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

अप्ठ्यारोमा परेकालाई सहयोग गर्नु मानवीय दायित्वभित्र पर्ने हुँदा बस्नेतलाई आफूले सकेको सहयोग गरेको पोखरेलले बताए । इटहरी उपमहानगरपालिका–७ निवासी समाजसेवी पोखरेल सामाजिक काममा विगतदेखि नै सक्रिय रहँदै आएका छन् ।
यसअघि लिखुपिके–२, मेस्कीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा उनकी ममतामयी आमा स्व. अजुदादेवी पोखरेलको नाममा डेढ लाख रकमको अक्षयकोष स्थापना गरेका थिए । उक्त अक्षयकोषबाट प्राप्त ब्याजले विद्यालयमा अंग्रेजी भाषाको अतिरिक्त कक्षाहरु संचालन हुँदै आएका छन् । यसका साथै पोखरेलले इटहरीस्थित मुसहर बस्तीमा शुद्ध खानेपानी व्यवस्थाको लागि आफ्नै खर्चमा धाराहरु निर्माण गरेका छन् ।
त्यस्तै उनले केही समयपहिले लिखुपिके–२ का मृगौलापीडित ज्ञानेन्द्र दाहाललाई उपचारको लागि आर्थिक सहयोग गरेका थिए । सुनसरीको इटहरीस्थित राधाकृष्ण मन्दिर निर्माणमा आर्थिक सहयोग गर्नुका साथै चतराधाममा यात्रुहरुका लागि पाटी निर्माणमा समेत योगदान दिएका थिए । आफ्नो टोल विकास कार्यमा पनि समाजसेवी पोखरेल निरन्तर क्रियाशिल रहँदै आएका छन् ।
सहयोग रकम बुझ्दै क्यान्सरपीडित बस्नेतले अहिले आफ्नो उपचार भइरहेको र स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जानकारी दिँदै बस्नेतले खुशी व्यक्त गरे । उनले आफूलाई उपचारमा सहयोग पुर्याई बाँच्न हौसला प्रदान गरेको भन्दै सहयोगीहरुलाई धन्यवाद दिए । साथै अस्पतालले ठूलो मात्रामा खर्च लाग्ने जानकारी दिएको उल्लेख गर्दै थप सहयोगका लागि सबैसँग उनले अनुरोध गरे ।