सीमाङ्कनसहितको संविधान जारी गर्नुपर्छ : मन्त्री डा रिजाल

इलाम, ६ साउन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सीमाङ्कनसहितको संविधान जारी गर्नुपर्ने बताउनुभएको छ । “एक-दुई दिन ढिलो गरेर केही हुँदैन्, तर हतारोमा संविधान जारी गर्दा समस्या हुन्छ । संविधान जारी गरौँ तर सीमाङ्कनसहितको गरौंँ”– उहाँले भन्नुभयो ।
सुझाव सङ्कलन गरेर ताप्लेजुङबाट फर्किने क्रममा आज बिहान इलाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री रिजालले जनताले दिएका अमूल्य सुझावको कदर गर्दै सङ्घीयतासहितको संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । जनताले धेरै किसिमका सुझाव दिएका छन्, सबैको गहन अध्ययन र विश्लेषण गरेर संविधानमा समेटिने उहाँले बताउनुभयोे ।
मस्यौदामा रायसुझाव दिन समय नपुगेको भने जनताको गुनासोप्रति मन्त्री रिजालले मस्यौदामा जनताका रायसुझाव लिने समय केही लामो बनाउनुपथ्र्याे तर हतारोमा भए पनि राम्रै सुझाव आएका छन्, केही त्रुटि अवश्य भएकै हो भन्नुभयो । मन्त्री रिजालले भन्नुभयो, “प्राप्त सुझावलाई विस्तृत अध्ययन, विश्लेषण गरेर संविधानमा समाहित गर्नु मुख्य कुरा हो ।”
बारम्बार लेख्नुपर्ने खालको संविधान लेख्नु नपरोस् भनेर एक÷दुई महिना ढिलै भए पनि सीमाङ्कनसहितको संविधान जारी गर्न सबैले कसरत गर्नुपर्छ, मन्त्री रिजालले भन्नुभयो, “सीमाङ्कनसहितको संविधान जारी गरेमा असन्तुष्ट दल पनि सहमतिमा आउँछन् ।”
एक फरक प्रसङ्गमा मन्त्री रिजालले संविधान बनेपछि तत्काल प्रधानमन्त्री, राष्ट्रपति पाउने आशामा हतारोमा काम भइरहेको समेत बताउनुभयो । हतार गर्नुभन्दा केही समय लिएर भए पनि दिगो, लोकतान्त्रिक र सबैलाई मान्य हुने संविधान जारी गर्न सकेमा त्यो नेपाल र नेपाली जनताको हितमा हुने र त्यसले दिगो शान्ति कायम गर्ने सञ्चार मन्त्री रिजालको भनाइ थियो ।