काठमाडौं – पर्सा जिल्लामा ओम सिमेन्ट उत्पादन गर्दै आएको ईन्टरनेशनल सिमेन्ट प्रा.लि.ले आम जनताको ज्यान माथी नै खेलवाड गरिरहेको रहस्य फेला परेको छ । यस कम्पनीले उत्पादन गर्ने सिमेन्ट कमसल र मिसावट युक्त हुनाले त्यसका उपभोक्ताहरुको ज्यान जोखिममा पर्ने खतरा बढेको हो ।
लगातार गुणस्तरहिन सिमेन्ट उत्पादन गरेर बिक्री वितरण गरेको पाईएपछि दुई वर्ष अगाडि उद्योग मन्त्रालयले यस उद्योगको गुणस्तर चिन्ह (एनएस) समेत खारेज गरेको थियो । उक्त समयमा सिमेन्ट उद्योगका सञ्चालक आनन्द अग्रवालले राजनीतिक पहुँचका आधारमा मन्त्रालयलाई नै सेटिङ मिलाउन खोजेका थिए । तत्कालीन उद्योग मन्त्री मातृका यादवसँग लेनदेनमा कुरा नमिलेको आरोप समेत त्यो समयमा लागेको थियो भने मन्त्रालयले ओम ब्राण्डको सिमेन्ट बिक्री वितरणमा बन्देज लगाउँने गरी गुणस्तर चिन्ह खारेज गर्न निर्देशन दिएको थियो । आफ्नो राजनीतिक पहुँच र पैसा काम नलाग्ने भएपछि सिमेन्ट उद्योगका सञ्चालक अग्रवालले मुढेबलको रणनीति अपनाएर नेपाल गुणस्तर तथा नापतौल विभागको कारवाहीको अवज्ञा गर्दै आएको खुलेको छ ।
उद्योग मन्त्रालय अन्तर्गतको नेपाल नापतौल तथा गुणस्तर विभागको कारवाहीका वावजुत पनि ओम सिमेन्टले चलचित्र नायक राजेश हमाललाई प्रयोग गरेर चर्को विज्ञापन गर्दै आएको छ । “एउटा मजबुतीको सुरुवात” स्लोगन दिएको यो ब्राण्डको सिमेन्ट प्रयोग गरिएका संरचना कतिबेला भत्किन्छन् पत्तो नहुने जनगुनासो भएता पनि सम्बन्धित निकायले कारवाहीको पत्र थमाउने बाहेक उत्पादन र बिक्री वितरण भने रोक्न सकेको छैन । उद्योग तथा उत्पादनको नियमन निकाय नेपाल गुणस्तर तथा नापतौल विभागले पछिल्लो समय पुन अनुगमन गरेर अर्को कारवाही गरेको छ ।
नेपाल गुणस्तर (प्रमाण चिन्ह) नियमावली २०४० को नियम (१६) बमोजिम विभागले उक्त उद्योगलाई कारवाही गरेको छ तर उद्योगले उत्पादन भने रोकेको छैन । ओम सिमेन्ट उत्पादन र विक्री वितरण स्थगित गर्न निर्देशन दिएको भएता पनि निर्देशनको पालना भएको नपाईएपछि विभागले गत हप्ता ईजाजतपत्र नै रद्ध गरेको थियो । तथापी ईन्टरनेशनल सिमेन्ट प्रा.लि.ले ओपिसी र पिपिसी भन्दै गुणस्तहिन सिमेन्ट उत्पादन गरेर उपभोक्तामाथी चरम ठगी गरिरहेको छ । यस उद्योगले गुणस्तर तथा नापतौल विभागको निर्देशनको ठाडो अवज्ञा गरेको छ । गैरकानुनी रुपमा आफ्नो उत्पादन र बिक्री वितरण जारी राखेको उद्योगका सञ्चालक अग्रवाल पुन ईजाजत दिलाउँन आग्रह गर्दै मोटो ब्रिफकेस बोकेर शक्ति केन्द्र धाई रहेको रहस्य पनि बाहिरिएको छ ।
नापतौल विभागको निर्देशन विपरीत सिमेन्ट उत्पादन र बिक्री वितरण निरन्तर रहेको र आम उपभोक्ताको जिवनमाथी चरम खेलवाड गरेको जनगुनासो बढेपछि विभागका महानिर्देशक बिश्वबाबु पुडासैनीसँग जिज्ञासा राख्दा विभागले ईजाजत रद्ध गरिसकेकाले उक्त उद्योगले उत्पादन र बिक्री वितरण गर्न नपाउँने बताए । “हामीले ईजाजत रद्ध गरिसक्यौं यदि अटेर गरेर उत्पादन गरिरहेको रहेछ भने जिल्ला प्रशासन कार्यालयमा मुद्धा हालेर कारवाही गर्छौं” – महानिर्देशक पुडासैनीले भने । ईजाजत नै रद्ध भई सकेको यस उद्योगका सञ्चालक आनन्द अग्रवालसँग जिज्ञासा राख्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । उनका थप कर्तुतहरुको खोजी जारी छ ।
नेपाल गुणस्तर (प्रमाणचिन्ह) नियमावली २०४० को नियम (१६) मा के छ ?
१६. इजाजतपत्र वा प्रमाणपत्र स्थगित वा रद्द गर्नेः (१) यो नियमावली बमोजिम दिइएकोइजाजतपत्र वा प्रमाणपत्र देहायका अवस्थामा कार्यालयले स्थगित वा रद्द गर्न सक्नेछ
(क) इजाजतपत्रवालाले उत्पादित, निर्मित वा अङ्गिकृत प्रक्रिया वा प्रदत्त सेवा नेपाल गुणस्तर अनुरूप नभएमा,(ख) इजाजतपत्रवालाले नेपाल गुणस्तरमा निर्दिष्ट विधिहरू नअपनाई कुनै पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा गुणस्तर प्रमाण–चिन्ह वा प्रमाणपत्र प्रयोग गरेमा,
(ग) इजाजतपत्रवालाले ऐन वा यो नियमावलीको प्रतिकूल काम कारवाही गरेमा वा कार्यालयले दिएको आदेश नमानेमा, वा
(घ) इजाजतपत्रवालाले इजाजतपत्र, प्रमाणपत्र वा कबूलियत वा मन्जूरनामामा तोकिएको शर्तहरू पालना नगरेमा ।
(२) इजाजतपत्र वा प्रमाणपत्र स्थगित वा रद्द गर्नु भन्दा अगावै इजाजतपत्रवालालाई आफ्नो स्पष्टीकरण पेश गर्न पन्ध्र दिनको म्याद दिनु पर्नेछ । इजाजतपत्रवालाले म्यादभित्र स्पष्टीकरण पेश गरेमा त्यस्तो स्पष्टीकरणमा समेत विचार गरी कार्यालयले इजाजतपत्र वा प्रमाणपत्र स्थगित वा रद्द गर्ने नगर्ने कुराको अन्तिम निर्णय गर्नेछ ।
(३) उपनियम (२) बमोजिम इजाजतपत्र वा प्रमाणपत्र स्थगित भएको अवस्थामा सम्बन्धित पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा इजाजतपत्रवालाले गुणस्तर प्रमाण–चिन्ह वा प्रमाणपत्र प्रयोग गर्न पाउने छैन ।