नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसले निम्त्याएको मानवीय संकटका बेला सरकार स्वास्थ्य सामग्री खरिदसम्बन्धी भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्।
नेपाली जनसम्पर्क समिति समन्वय बिभागद्धारा बिश्वभरका जनसम्पर्क समितिका सभापतिहरुसँग आइतबार साँझ आयोजित कोरोना भाइरसले पारेको असरसम्बन्धी भिडियो कम्फरेन्सलाई सम्बोधन गर्दै सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारका बिरुद्ध जिम्मेवार प्रतिपक्षका नाताले कांग्रेसले सडकदेखि सदनसम्म सशक्त ढंगबाट आवाज उठाउने बताए। उनले बिदेशी भूमिमा श्रम गरेर नेपालीले कमाएको पैसा संकटका बेला नेपालमा सहयोग गरेकोमा सबैलाई धन्यवाद दिए। कोरोनाका कारण रोजगारी गुमेर अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले गरेको बेवास्ताप्रति आपत्ति जनाउँदै उनले तत्काल स्वदेश ल्याउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए।
भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिले कोरोना भाइरस नियन्त्रणमा गम्भीर बन्नुपर्नेमा सरकारले लकडाउन गर्ने बाहेक केही काम नगरेको आरोप लगाए। कोरोना भाइरस नियन्त्रणभन्दा पनि सरकार सत्ताराजनीतिमा केन्द्रित भएको निधिको भनाई थियो। उपसभापति निधिले राजनीतिक र नैतिक हिसाबले ओली सरकारले शासन गर्ने अधिकार गुमाइसकेको बताए। उनले भने, ओली सरकारले न राजनीतिलाई सहि दिशा दिन सक्यो न त जनताको जीवनरक्षामा नै अगुवाई गर्न सक्यो। जनताले सरकारको नयाँ नेतृत्व खोजेको भन्दै नेकपाले बिकल्प दिएमा कांग्रेसले स्वागत गर्ने निधिको भनाई थियो।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले ओली नेतृत्वको सरकारले कोरोना भाइरस नियन्त्रणका पक्षमा केही काम गर्न नसकेको भन्दै लकडाउनलाई राजनीतिक साध्य बनाएको आरोप लगाए।
नेपाली जनसम्पर्क समिति समन्वय बिभागका प्रमुख गोविन्द भट्टराईले बिदेशमा रहेका नेपालीहरुका बारेमा जानकारी लिने उद्धेश्यले भिडियो कन्फरेन्स गरिएको बताए। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य डा. आरजु राणाले कोरोना भाइरसको संक्रमणका कारण बिदेशमा रहेका लाखौं नेपाली बेरोजगार बनेकोले भोलिका दिनमा त्यसको असर सिंगो आर्थिक क्षेत्रमा पर्ने बताइन्।
नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्ब सभापति तथा एनआरएन बेल्जियमका पुर्ब अध्यक्ष गंगाधर गौतमले ५ घण्टासम्म संचालन गरेको बिश्वभरबाट झण्डै एक सय पचास भन्दा बढी प्रतिनीधि उपस्थित भिडियो कन्फरेन्समा गैर आबासीय नेपाली संघको तर्फबाट कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनका पूर्ब उपाध्यक्ष कुल आचार्य, एनआरएनए अमेरिकाका पुर्ब अध्यक्ष केशब पौडेल,एनआरएनए केन्द्रिय सल्लाहकार बिश्व आदर्श पन्डित, नेपाली जनसम्पर्क समिती अमेरिकाका सभापति एवं केन्द्रिय आमन्त्रित सदस्य आनन्द बिष्ट, जनसंपर्क समिती भारतका सभापति एवं आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डे,जनसंपर्क समन्वय समिति यूरोपका अध्यक्ष दिल बहादुर गुरुङ, लगायतले आआफ्नो धारणा राख्नु भएको थियो.