डब्लुएचओको आकस्मिक बैठक : कोभिडको औषधिबारे छलफल

काठमाण्डौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को आकस्मिक बैठक आज बिहीबार बस्दैछ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।


उनले आज आकस्मिक बैठक बसेर विश्वमा कोभिड–१९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने बताएका छन् । उनले भने, ‘हामीले आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर यो भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ र बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुनेछ ।’
महानिर्देशक टेड्रोसले यो जानकारी ‘भर्चुअल ब्रिफिङ’बाट दिएका हुन् । यस आकस्मिक बैठक पनि भर्चुअल स्वरुपमा नै हुने भएको छ ।

यस बीचमा कोभिडको केही औषधिका बारेमा पनि कुराकानी हुने बताइएको छ । विश्व स्वास्थ्य संगठनका विज्ञहरुले पनि कोविडको औषधि पत्ता लगाउने विषयमा अनुसन्धान गरिरहेको भनिएको भए पनि कुनै ठोस प्रगति भने हुन सकेको छैन ।

गत मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोविडलाई एक विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेको थियो । त्यसपछि मात्र विश्वका देशहरुले यस महामारीको संकटका बारेमा रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए । यस महामारीको पछिल्लो तथ्यांकअनुसार हाल यस महामारीबाट विश्वभरमा ३२ लाख भन्दा बढी संक्रमित रहेका छन् भने २ लाख २८ हजार भन्दा बढीको ज्यान गएको छ ।

एएनआई