नेपालमा इसाईको संख्या बढ्नु हाम्रो लागि खतरा हो : दाहाल

काठमाडौं, श्रावण २ । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल यतिबेला भारत भ्रमणमा छन् । शुक्रबार भारतका राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गरेका दाहाल शनिबार गुजरात जाँदैछन् । भूकम्पले गरेको विनासपछिको पुनर्निर्माणबारे अध्ययन र निरीक्षण गर्न उनी गुजरात जान लागेका हुन् । दिल्लीमा रहँदा उनले भारतीय मिडिया ‘आउट लुक’ सँग नेपालको पछिल्लो राजनीतिक अवस्था र भारतसँगको सम्बन्धबारे चर्चासमेत गरे । यस क्रममा उनले नेपालमा क्रिश्चियनको संख्या बढ्नु आफ्ना लागि चिन्ताको विषय हुँदै गएकोसमेत बताए । दाहालले नेपाल–भारतबीच सन् १९५० मा भएको मैत्रीपूर्ण सम्झौता अन्त्य गर्नुपर्ने पक्षमा आफूहरु रहेको पनि उल्लेख गरे । त्यसैगरी उनले आफूहरु संसदीय अभ्यासको विरुद्ध रहेको पनि प्रष्ट पारेका छन् । प्रस्तुत छ, दाहालले आउट लुकलाई दिएको अन्तरवार्ताको अंशः

नेपालमा माओवादी आन्दोलनको त्यत्रो सफलता, जसका आधारमा राजतन्त्र अन्त्य भयो । त्यसका बाबजुद तपाईको पार्टीलाई गहिरो धक्का लाग्यो । तपाईहरुले जनाधार गुमाउनु भयो र विपक्षमा हुनुहुन्छ । अब अगाडीको बाटो कस्तो सोच्नु भएको छ ?

तपाईको कुरा ठिक हो । हामीले गल्ती गर्‍यौ र त्यसको परिणाम सामुन्ने छ । फेरि उठ्ने र नेपाली जनताका सामू बलियो विकल्प दिने चुनौती हाम्रा सामू छ । यसका लागि हामी तयारी गर्दैछौं । हाम्रो रणनीतिमा परिवर्तन आएको छ । यो अति आवश्यक पनि थियो ।
नेपालमा बुर्जुवा लोकतान्त्रिक क्रान्तिको चरण राजतन्त्रको अन्त्यसँगै सकिएको छ । अब हामीले समाजवादी क्रान्तिको तयारी गर्नुछ । यसका लागि वामपन्थी तमाम दलहरुको साथ लिने कोशिस गर्नुछ । हामी यसको तयारी गर्दैछौं । अलग–अलग समूहमा बामपन्थी शक्ति बाँडिने हो भने प्रहार क्षमता कमजोर हुन्छ ।

समाजवादी क्रान्तिलाई कसरी व्याख्या गर्नुहुन्छ ? प्रमुख शत्रु को हो ?

अब नेपालमा न त्यस प्रकारको राज्यसत्ता छ, न त त्यस्तो सामन्तवाद नै छ । हाम्रो पार्टीको नेतृत्वमा भएको १० वर्षे जनयुद्धमा भूमि सम्बन्धमा धेरै परिवर्तन आएको छ । धेरै ठूला जमिनदार पहिले पनि नेपालमा थिएन, जो थिए– ती पनि समाप्त भइसके ।
नेपालको पहाडी क्षेत्रमा ३/४ हेक्टर जमिन र तराईमा १० बिघाभन्दा बढी जमिन कसैले राख्न पाउँदैन । हामी यस्तो प्रावधान संविधानमा पनि राख्न गइरहेका छौं ।

भारत–नेपाल मैत्री सम्झौता अन्त्य गर्नुपर्ने माग धेरै पुरानो भइसकेको छ । यस पटक पनि तपाई भारतीय पक्षसँग यस मुद्दामा कुरा गर्नुहुन्छ ?

यो सम्झौता एकतर्फी छ । सन् १९५० मा भएको यो सम्झौता राणा कालमा भएको थियो । हामी यसलाई अन्त्य गर्न चाहन्छौं । तर भारतले यो सम्झौता आफू एक्लैले अन्त्य गर्न नमिल्ने बताउँदै आएको छ । यसलाई दुबै पक्ष मिलेर अन्त्य गर्नु पर्दछ । यस विषयमा हाम्रो छलफल जारी छ ।

नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउने सम्भावना कति छ ?

यो नेपालको समवेदनशील मुद्दा हो । यसका बारेमा नेपालमा ठूलो बहस भइरहेको छ । प्रलोभन दिएर वा डराई–धम्काई धर्म परिवर्तन गराउने कुराको हामी विरोधमा छौं । यसबारे हामीले संविधानमा पनि प्रावधान राखेका छौं । जोर–जबर्जस्ती धर्म परिवर्तन गराउनुलाई नयाँ संविधानले अपराध ठहर गर्नेछ ।

त्यसो भए तपाई हिन्दु राष्ट्रको समर्थकको प्रमुख माग स्वीकार गर्नुहुन्छ ? उनीहरु संविधानको यो प्रावधानबाट खुशी छन् ?

हेर्नुस्, नेपालमा हिन्दुहरुको जनसंख्या बढी छ । नेपालमा इसाईको संख्या बढ्नु हाम्रो लागि खतरा हो । हाम्रो एक छिमेकी चीन हो भने अर्को भारत । दुबै छिमेकी मुलुक नेपालको जनसंख्याको संरचना परिवर्तन भएकोमा चिन्तित छन् । चीनको दृष्टिमा यो पश्चिमी शक्तिको प्रभाव हो । हाम्रो राष्ट्रिय हितमा पनि यो छैन । तर साथसाथ यो पनि पक्का छ कि हामी नेपाललाई हिन्दु राष्ट्र बनाउन चाहँदैनौं । नेपाल धर्मनिरपेक्ष देश रहोस् भन्ने मै हाम्रो सम्पूर्ण कोशिस रहनेछ । तर कांग्रेससहित केही दल नेपाललाई हिन्दु राष्ट्र बनाउने कोसिसमा छन् ।

नेपालमा संविधान निर्माणको प्रक्रिया निकै लामो र जटिल हुँदै गएको छ । तपाईहरु पनि सत्ता बाहिर हुनुहुन्छ । कसरी नेपालको संविधानले गरिब र पिछडिएका समुदायको प्रतिनिधित्व गर्छ ?

हामीले तय गरिसकेका छौं, हामी सरकारमा रहेर, सदनमा रहेर, सडकमा रहेर पनि संघर्ष गर्छौं । नेपाल हाम्रो हो, हामीले यसलाई बनाएका हौं र आगामी दिनमा पनि हामीले नै यसलाई अझ राम्रो बनाउँदै लैजाने हो । संविधानमा धेरै राम्रो र सकारात्मक प्रयोग हामीले गरेका छौं । कुनै प्रकारको राजतन्त्रलाई संविधानमा निषेध गरिएको छ । समानुपातिक प्रतितिधित्वको प्रावधान छ । महिला, दलित, पिछडिएका समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । हामी संसदीय प्रणालीको विरुद्ध छौं । संसदीय प्रणालीबाट कहिल्यै पनि अराजकता अन्त्य हुँदैन ।

के फेरि पनि सशस्त्र क्रान्तिको आवश्यकता महसुस हुन्छ ?

अहिले त त्यस्तो छैन । अहिले शान्तिपूर्ण संघर्षको समय हो । क्रान्तिकारी आन्दोलनमा रणनीतिको अलग–अलग चरण हुन्छन् । समाजवादी क्रान्तिका लागि जब स्थिती परिपक्व हुन्छ, त्यतिबेला बल प्रयोग विना सत्ता परिवर्तन सम्भव हुँदैन ।

तस्वीरः शिव खकुरेलको फेसबुकबाट ।