युरोप, खाडी मुलुक र पश्चिम एशियाका सबै देशका नागरिकलाई नेपाल आउन प्रतिबन्ध

काठमाण्डौं – सरकारले युरोपियन देशका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ। यो निर्णय शुक्रबारदेखि लागु हुने छ।

कोरोना भाइरसले प्रभावित भएका देशहरुलाई नेपाल प्रवेशमा रोक लगाउने कदमस्वरुप सरकारले बिहीबार उक्त निर्णय गरेको हो।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारद्धारा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले सबै युरोपियन देश, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै देशबाट आउने नागरिकलाई पनि प्रतिबन्ध लगाएको हो। सरकारको निर्णयअनुसार उक्त व्यवस्था वैशाख ३ गतेसम्म लागू हुनेछ।

सरकारले यसअघि अनअराइभल भिसा दिन बन्द गरिसकेको छ। नेपाल आउने विदेशी र स्वदेशी नागरिकसमेत १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने सरकारको निर्णय छ।