छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड

सचिना बानियाँ

किशोरावस्था नटेक्दै उनीमाथि बलात्कार भयो । यो क्रम दुई वर्षयता चल्दै आयो । न उनले कसैलाई भन्न सकिन् न भन्ने अवस्था नै बन्यो । नियमित उनको शरीरमाथि एउटा पुरुष जाइलाग्थ्यो । उनी चुपचाप सहन्थिन् । उसले जुन बेला चाह्यो त्यो बेला तयार हुनुपथ्र्यो । प्राचीनकालको ‘यौनदासी’ भन्दा पनि चरम यातना सहन बाध्य भइन् उनी । शारीरिक र मानसिक दोहोरो यातनाबाट प्रताडित भइरहिन् ।

टहरोको बास थियो त्यो पनि अरुको खेत भाडामा लिएर । सानो टहरोमा बाबुआमासहित तीन दिदीबहिनी बस्दै आएका थिए । एक दिन यस्तो आयो जुन दिन उनले कहिले भुल्न नसक्ने र कहिले नीको नहुने मानसिक घाऊ बन्यो । कोपिला १२ वर्ष हुँदा पहिलोपटक बलात्कृत भएकी थिइन् । बलात्कार गर्ने कुनै पराई थिएन । उनकै बाबु थियो । जसले विगत दुई वर्षयता उनीमाथि नियमितजसो शोषण गर्दै आयो । मौका छोप्थ्यो अनि आक्रमणमा उत्रिइहाल्थ्यो । मानवताको सबै मूल्य मान्यता नाघेर निकृष्ट रुपमा आफ्नै छोरीमाथि जाइलाग्थ्यो । त्यो पनि रक्सीको नशामा । यौनपिपासु बनिसकेको थियो दुर्योधन । भन्थ्यो- तलाई विवाह पनि गर्न दिन्नँ । अति माया देखाएजसरी आमाको अगाडि भन्थ्यो म बाचुञ्जेल छोरीको विवाह गर्न दिन्नँ । बाबुले निकै माया गर्दोरहेछ भन्ने ठान्थिन् कोपिलाको आमा । जन्मदिने छोरीमाथि कुकर्म गर्ला भन्ने मनमा पनि थिएन । त्यसैले तीन सन्तानको मुख हेरेर पतिको हरेक दिनको कुटाई सहिन् । मेलापात गरेर भएपनि रक्सीको जोहो गरिदिइन् ।

कोपिला १४ वर्ष मात्र पुगेकी थिइन् । बाबुको चरम शोषणले सीमा नाघिसकेको थियो । हरेक रात आफैसँग सुत्न वाध्य पार्न थालिसकेको थियो । आमा र दुई बहिनीले थाहापाउलान् कि भनेर कहिलेकाहीं सुर्य नउदाउँदै जर्बजस्ती उठाएर लान्थ्यो । कहिले खोलाको किनार त कहिले खेतमै बलात्कार गथ्र्यो । बाबुको यौन शोषण शुरु भएपछि कोपिलाको पढाई पनि बिग्रनथाल्यो । पाँचौं कक्षामा लगातार दुई वर्ष अनुत्तीर्ण भइन् । त्यसपछि उनी स्कुल जान छाडिन् । मानसिक यातनाले उनको मन क्षतविक्षत भइसकेको थियो । पढाईमा कसरी ध्यान जान्थ्यो ? स्कुल जान छाडेपछि बाबुका लागि झन् मौका बन्यो ।

आमा हरेक दिन मेलापात जान्थिन् । सकीनसकी श्रम गर्थिन् र छाक टार्ने उपाय गर्थिन् । शारीरिक परिश्रम, पौष्टिक आहारको कमी र मानसिक पीडाले अनुहार फुङ्ग उडेको जस्तो देखिन्थ्यो । ३५ नकट्दै ५० कटेको जस्तो देखिन्थिन् । त्यसमाथि दैनिकजसो लोग्नेको कुटाई । कुटाई नखाएको दिन उनका लागि खुशीको दिन हुन्थ्यो जुन सायदै आउँथ्यो ।

कोपिलाका दुई बहिनीमध्ये एक स्कुल जान्थिन् भने सानीचाहिंलाई प्रायः आमाले नै लिएर जान्थिन् । बाबुले घरमा हरेक दिनजसो बलात्कार गर्न थाल्यो । आमाले मेलापातबाट कमाएर ल्याएको रकम पनि छाड्दैनथियो । कुटपिट गरेर भएपनि खोस्थ्यो अनि रक्सीमा खर्च गथ्र्यो । नशामा मात्तिएर कोपिलामाथि फेरि फेरि आक्रमण गर्दथ्यो ।

दुईवर्षको चरम शोषणपछि एउटा दिन आयो । कोपिलाको घरमा बाबुले दुईजना पुरुष बोलायो । उनीहरु रक्सी पिएर बसेका थिए । त्यसमध्ये एउटा युवकले कोपिलालाई पत्नी बनाउने कुरा गर्यो । त्यसपछि बाबुले रिस खप्न सकेन । झगडा गर्न थाल्यो । विवादका क्रममा घनले युवकको टाउकोमा हान्यो । युवक ठहरै भयो । बाबुले आफ्नै सामुन्ने गरेको हत्या कोपिलाले देखिन् । बाबुचाहिंले अर्को युवकसँग मिलेर हत्याको घटना लुकाउन खोज्यो तर सकेनन् । युवकले घटनाबारे छिमेकलाई भनेपछि प्रहरी आइपुग्यो । युवकको हत्याको अभियोगमा तीनजनालाई पक्राउ गर्यो ।

युवकको हत्याले कोपिलामाथिको चरम यौन शोषण खुल्यो । जुन सुनिनसक्नुको थियो । कोपिलाले आफूमाथि निरन्तर भइआएको यौनशोषणबारे गहभरी आँसु बनाएर भनिन् । उनको मनमा उकुसमुकुस भएको पीडा आँसुसँगै ओइरियो । दुईवर्षयता दिएको पीडा सुनाइन् । रक्षक नै भक्षक बनेको दुःखदायी वास्तविकता भनिन् ।

कोपिलाका बाबु छोरीलाई दासी झै व्यवहार गर्न थालिसकेको थियो । आफूले गरेको यौनशोषण छोरीले बाहिर भन्ली भनेर कहीं कतै जान दिदैनथ्यो । कसैसँग बोलेमा पनि हेक्का राख्थ्यो र औंला ठड्याउँथ्यो । निर्ममतापूर्वक कुटेर त्रसित बनाएको थियो । कोपिलाको मुखमा बेला बेलामा चोट हुन्थ्यो । देख्नेले सोध्थे तर उनी लडेको भनिदिन्थिन् । त्रासै त्रासमा चरम शारीरिक शोषण सहेरै बसेकी थिइन् । तर, समय यस्तो आयो कि यौनपिपासुको कुकार्यको घैंटो फुट्यो ।

युवकको हत्यापछि कोपिलाको बाबु प्रहरीको नियन्त्रणमा परेर उनीमाथिको यौन शोषणमा पूर्णविराम लाग्यो । तर, दुई वर्षयताको चरम यौन शोषण र आँखै अगाडि देखेको हत्याको घटनाले उनमा गहिरो मानसिक चोट पुर्याएको छ । जसको उपचार शरीरको घाउभन्दा पीडादायक हुनसक्छ । छोरी नभन्ने बाबुबाट हुर्किइरहेका उनका बहिनीहरु पनि हवसको शिकार हुने खतरा थियो । ती खतरा त टरे तर कोपिलाको परिवारमा पीडा र चुनौती थपिएकै छ ।

दुई बहिनीमध्ये कान्छी दुई वर्षकी मात्र छिन् । आमा गर्भवती छिन् । जसको शरीरमा पाँच महिनाको बच्चा खेलिरहेको छ । आमाको मेलापातोबाट जिविकोपार्जन गर्ने परिवार अन्यौलग्रस्त भविष्य देखेर आत्तिएको छ । न बितेका पल सुखद रह्यो न भविष्यले सुखद मार्ग देखाइरहेको छ । पत्नीमाथि निर्घात कुटपिट र शारीरिक शोषणमात्र नभई आफ्नै छोरीमाथि बलात्कार गर्दै आएको एउटा पुरुषले चार नारीको भविष्यमाथि खेलवाड गरेको छ । ऊ त जेलमा कैद भएर बस्छ तर बाहिरी दुनियाँमा बाँच्नुपर्ने कोपिला, उनकी आमा र बहिनीहरु पलपलमा मानसिक यातना भोगेर बाँच्नुपर्ने अवस्था आएको छ । बाबुरुपी कुकर्मीबाट त मुक्त भएका छन् तर समाजको दृष्टिकोण र आर्थिक चुनौतीले बनाएको जञ्जिरबाट मुक्त हुन कठिन छ ।

(घटनाको संवेदनशीलतालाई दृष्टिगत गरी घटनास्थल, पीडित र पीडकको नाम वास्तविक भन्दा अर्को राखिएको छ र घटनाको मिति र ठाउँ पनि गोप्य राखिएको छ)