काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण छिट्टै गरिने भएको छ । मिर्गौला प्रत्यारोपण पूर्वको स्वास्थ परिक्षण समेत सुरु भै सकेको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ ।
मंगलबार प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुको परिक्षण गरेका थिए त्यसलाई मिर्गौला परिक्षणको सुरुवात रहेको जनाइएको छ ।
केही समयअघि मात्रै हड्डीको परिक्षणको लागि भन्दै प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल पुगेका थिए । प्रधानमन्त्रीको मिर्गौला त्रिवि शिक्षण अस्पताल वा ग्राण्डी अस्पताल मध्य एकमा हुने सम्भावना उच्च रहेको स्रोतको दावी छ ।
१२ बर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छोडेको बताइन्छ । अहिले पनि उनको हप्तामा एकपटक मिर्गौलाको डायलासिस हुने गरेको छ ।
गत मंसिरमा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएपछि उनी उपचारका लागि मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १० दिन उपचार गराएका थिए । अहिले उनी यो रोगबाट पूर्ण रूपमा ठिक छन तर यही रोगकै कारण उनको मिर्गौला प्रत्यारोपण भने पर धकेलिएको थियो ।
बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने इच्छुक छन । मिर्गौला दिने डोनर समेत तयार हुनुका साथै मिर्गौला प्रत्यारोपणका लागि नेपालको कानुन समेत सहज रहेकाले पनि प्रधानमन्त्री ओली नेपालमै मिर्गौला प्रत्यारोपण गराउन चाहान्छन ।
सम्भवत यो महिना भित्रैमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण हुने बालुवाटार निकट उच्च स्रोतको भनाइ छ ।