कांग्रेसद्वारा सदन अवरोध, गच्छदारलाई मुद्दा चलाइएकोमा असन्तुष्ट

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना उपसभापति विजयकुमार गच्छदार माथि राजनैतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै बिहीवारको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो ।

कांग्रेसका तर्फबाट सभामुखले सचेतक पुष्पा भुसाललाई बोल्ने समय दिएका थिए । कांग्रेस नेतृ एवम् सचेतक भुसालले गच्छदारमाथि प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै अख्तियारजस्तो संवैधानिक आयोग सरकारको लाचार छायाँ बनेको बताइन् ।

संसदीय व्यवस्थामा प्रधानमन्त्रीको स्वीकृतमा मन्त्रिपरिषदबाट निर्णय हुने भएपनि तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाललाई अन्मुक्ति दिएर नेपालको क्याबिनेटमा मन्त्री रहेका गच्छदारलाई मुद्दा चलाइएको भुसालको भनाइ थियो । कांग्रेस सांसदको अवराेध पछि सभामुख सापकोटाले भोलि (शुक्रबार) दिनको १ बजे बस्ने गरी स्थगित भएको घोषणा गरे ।

बालुवाटारको ललिता निवास निवास कम्पाउण्डमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । जसमा ११० जनाले भ्रष्टाचार गरेको दाबी गरिएको छ भने ६५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ ।

अख्तियारले नेपाली कांग्रेसका उपसभापति गच्छदारविरुद्ध ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।गच्छदारले ०६७ सालमा भौतिक योजना तथा निर्माणमन्त्री हुँदा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।