इयूसँगको ४७ वर्ष लामो आवद्धतापछि अन्ततः बेलायत युरोपेली संघबाट बाहिरिएको छ ।
४७ वर्षे लामो सदस्यता त्यागेको औपचारिक भिडिओ सन्देशमा प्रधानमन्त्री बोरिस जोनसनले तीन वर्षभन्दा लामो समय राजनीतिक खटपट बेहोरेको ब्रेक्जिटलाई ‘नयाँ बिहानी’ भनेका छन् ।
ब्रेक्जिट पक्षधर र युरोपेली सङ्घको समर्थन गर्ने प्रदर्शनकारीहरू दुवैले र्याली, उत्सव र मैनबत्ती बालेको बीबीसीले जनाएको छ ।
सदस्यता त्यागे पनि धेरैजसो युरोपेली सङ्घका कानुनहरू कायमै रहने छन् । जस्तो कि डिसेम्बरको अन्त्यसम्म मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन् ।
त्यति बेलासम्म स्थायी रूपमा खुला व्यापार सम्झौता युरोपेली सङ्घसँग गरिसक्ने लक्ष्य यूकेले राखेको छ। लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि ‘देश अगाडि बढ्नुपर्थ्य’ र युरोपली सङ्घसँग ‘राम्रो सम्बन्ध बनाइरहनुपर्थ्यो’ बताए ।
विना आधार अमेरिकासँग ‘सम्झौत गर्न हामफाल्न नहुने’ पनि उनले बताए । उनले सन् २०१६ मा भएको ब्रेक्जिटसम्बन्धी जनमत सङ्ग्रहमा जुन तरिकाले मत खसेको भए पनि ईयूबाट बाहिरिने दिन सबैका लागि धेरै महत्त्वपूर्ण भएको पनि बताए ।
जनमतसङ्ग्रहका बेला ईयूसँगै बस्नुपर्ने अभियानको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले पनि ‘आजको दिन आफ्नो देशका लागि निकै ठूलो’ भएको बताएका छन् । उनले ब्रिटेनका जनताको ‘रोजाइ सफल हुन्छ’ भन्ने विश्वास लिएको पनि बताए ।
ब्रेक्जिट पार्टीका नेता नाइजल फराजले भनेस् ‘अन्त्यमा त्यो दिन आएको छ जब हामी स्वतन्त्र हुन्छौं । संस्थापनको विरुद्ध लड्ने मानिसका लागि यो ठूलो जित हो ।’
शुरूमा ब्रेक्जिट मार्च २९ का लागि तय गरिएको थियो तर ईयू र पूर्वप्रधानमन्त्री टरिजा मेबीच भएको सम्झौतालाई सांसदहरूले अस्वीकार गरेपछि पटकपटक त्यो पछाडि धकेलिएको थियो ।