काठमाण्डौं – चीनियाँ नयाँ वर्षको पुर्व सन्ध्यामा चीनमा फैलिएको कोरोना भाइरस सर्पबाट मानिसमा सरेको एक अध्ययन बाट खुलासा भएको छ ।
जर्नल अफ मेडिसिन भाइरोलोजीमा प्रकाशित अध्ययन अनुसार कोरोना भाइरस सिफुड बेच्ने होलसेल बजारबाट सरेको पनि अध्ययनले देखाएको छ ।
कोरोना भाइरसको जिन अध्ययन पश्चात् उभयचरमा कोरोना भाइरस देखिएको समेत अध्ययनले दावी गरेको छ । अध्ययनका अनुसार कोरोना भाइरस मानिसमा सर्नु अघि सर्पमा देखिएको थियो ।
चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरसको प्रभाव बढ्दै गएको हो । बुहान कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने भएकाले पनि यसको जोखिम विश्वभर देखिएको हो । चीनमा मात्र भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यस्तै, ५०० जना भन्दा धेरै मानिस यस भाइरसबाट संक्रमित भएका छन् ।
बुहानबाट शुरु भएको यस भाइरसको प्रभाव बेइजिङ, मकाउ, ताइवान लगायत अन्य चिनियाँ शहरसम्म पुगेको छ । बुहानमा यसको असर अझै बढ्ने देखेर सार्वजनिक यातायात बन्द गरिएको छ । यस शहरका मानिसहरुलाई अन्य शहरमा यात्रा नगर्न आग्रह गरिएको छ ।
चीनमा मात्र नभइ यस भाइरसको असर अन्य देशमा समेत देखिएको छ । अमेरिका,थाइल्यान्ड, दक्षिण कोरिया, अष्ट्रेलियामा समेत कोरोना भाइरसको प्रभाव देखिएको छ । बेलायती वैज्ञानिकहरुले भने यस भाइरसको असर एक हजार भन्दा धेरै व्यक्तिहरुलाई भएको हुनसक्ने दाबी गर्दै आएका छन् ।
भाइरस फैलिँदै गएको अवस्थामा विश्वभर विमानस्थलहरुमा सावधानी अपनाउन शुरु भइसकेको छ । चिनियाँहरु अहिले नयाँ वर्षको विदामा धेरै संख्यामा चीनबाट अन्य देश घुम्न पुगिरहेकाले कोरोना भाइरस अन्य देशमा फैलिन सक्ने चेतावनी चिनियाँ अधिकारीहरुले नै दिइसकेका छन् । त्यसैले यस भाइरसको संक्रमण फैलिँदै गर्दा अधिकांश अन्तर्रा्ष्ट्रिय विमानस्थलहरुमा चीन हुँदै आउने यात्रुहरुको स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ ।
सिंगापुर, हङकङ, अमेरिका, बेलायत, भारतलगायतका राष्ट्रहरुमा पनि चीनबाट आउने यात्रुहरुको स्क्रिनिङ गर्न सुरु गरेको छ । नेपालमा पनि चीनबाट धेरै संख्यामा मानिसहरु आइरहने हुँदा यहाँ पनि सावधानी अपनाउनुपर्ने चिकित्सकहरुले माग गर्दै आएका छन् ।