काठमाण्डौं – संघीय संसद अन्तरगत प्रतिनिधिसभाको सभामुख चयनका लागी आज (मंगलबार) देखि सुरु हुँदै छ ।
सभामुख चयनका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । सभामुख चयनका लागि निर्वाचन भने माघ १२ गते हुने छ ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले हिजो (सोमबार) को बैठकको अध्यक्षता गर्दै सभामुखको चुनाव माघ १२ गते गर्ने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए ।
सोही अनुसार नै सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार आज ११ बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गरिने संसद सचिवालयले जनाएको छ । उम्मेदवारको मनोनयन सकिएपछि २:३० मा उम्मेदवारको सुची सार्वजनिक गर्ने तयारी छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि गत असोज १४ गते पदबाट राजिनामा दिएका थिए । उनको राजीनामा पछि सभामुख पद रिक्त छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले व्यक्ति हत्याको आरोप लागेका स्थायी कमिटी सदस्यअग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवारी दिने निर्णय गरेको छैन । यसअघि सभामुखमा आफ्नो दावी पेश गर्दै आएकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सोमबार राजिनामा दिए सँगै सभामुख चयनको प्रक्रिया सुरु हुन लागेको हो ।
बलात्कारिको ठाउँमा हत्या आरोपित व्यक्ति सभामुख बन्न लागेको भन्दै सामाजिक सञ्जालमा भने सत्तारूढ दलका सभामुखका प्रत्यासी सापकोटा र उम्मेदवार सिफारिस गर्ने नेकपाको आलोचना भै रहेको छ ।