राष्ट्र बैंकको निर्देशन लत्याइयो
वातावरणीय दृष्टिकोणले उपयुक्त विद्युतीय सवारीलाई प्राथमिकता दिने सरकारको योजनामा अवरुद्ध सृजना भएको छ । खासगरि, यसमा हुने लगानी, ब्यवसायी र मुनाफाको सुरक्षा प्रत्याभुति नभएको भन्दै बैंकहरु पछि हट्न थालेका छन् । सरकारको निर्णय वमोजिम नेपाल राष्ट्र बैकको निर्देशन बाणिज्य तथा विकास बैंकहरुले पालना नगरेको ब्यवसायीहरुले आरोप लगाएका छन् ।
पछिल्लो पटक साझा बसदेखि अन्य नीजि कम्पनीका सार्वजनिक बिद्युतीय सवारीमा लगानी गर्ने सरकारले घोषणा गरेको थियो । तर, यो घोषणा कार्यान्वयन नहुँदा ब्यवसायीहरुको योजना खेर जाने संभावना बढेको छ । यसैलाई मध्यनजर राखेर केहि कम्पनीले विज्ञप्ति जारीगरि विरोध गर्न थालेका छन् । विद्युतिय सवारी साधनमा लगानी गर्न नेपाल राष्ट्र बैंकले दिएको निर्देशन कार्यान्वयन गर्न बैंकहरुले आनाकानी गरेको बस सञ्चालकले आरोप छ ।
काठमाडौं महानगरपालिकाभित्र विद्युतिय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले विज्ञप्ति जारी गर्दै विद्युतिय बसमा लगानी गर्न बैंकहरुले आनाकानी गरेको बताएको हो ।
प्रालिले अन्य विद्युतिय सवारी साधन थप आयात गर्नको लागि कर्जा उपलब्ध गराइदिन नेपालका ‘क’ र ‘ख’ स्तरका बैंकहरुलाई अनुरोध गरेपनि बैंकहरुले कर्जा दिन हिच्किच्याउने गरेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार तथा अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकले विद्युतिय सवारी साधनमा लगानी गर्नुपर्छ भनि पटक पटक निर्देशन दिँदा पनि पालना गर्ने तर्फ चासो देखाएका छैनन् । आयातित इन्धनबाट संचालित हुने सवारी साधनहरु (बसहरु) संचालन गर्न जति भन्यो त्यति लोन दिन तयार हुने ति बैंकहरु विद्युतिय सार्वजनिक बसमा लगानी गर्न तथा लोन सम्बन्धि कुरा गर्न सम्म चाहेनन् ।’
सरकारको नीति नियममा रहेर विश्वव्यापी माग बढ्दै गएको वातावरणमैत्री सवारी साधनमा लगानी गर्न धितो सहितको कर्जा माग्दा पनि बैंकहरुले आनाकानी गरेको प्रालिको आरोप छ ।
‘हामीले हाम्रो गाडीले दैनिक आमदानी गर्नेमध्ये तीन हजार खर्च कटाई बाँकी रहेको आम्दानी बैंकलाई बुझाइ ५ वर्षमा बैंकले गरेको लगानीको सबै किस्ता भुक्तानी गछौँ भन्दा पनि बैंकहरुले विद्युतिय सवारी साधनमा लोन दिन मानिरहेको छैनन्,’ विज्ञप्तिमा उल्लेख छ ।
आयातित इन्धनलाई बढावा दिने काममा राष्ट्र बैंक पनि भित्रभित्रै लागेको प्रालिको आरोप छ। यसबाट प्रालिको देशव्यापी रुपमा विद्युतिय बस संचालन गर्ने उद्देश्यमा बाधा पुगेको पनि विज्ञप्तिमा भनिएको छ । विद्युतीय सवारीका सख्या बढाएर उपत्यकालाई वातावरणीय सुरक्षा प्रदान गर्न सकिने यसका विज्ञहरुले सुझाइरहेका छन् । उपत्यकामा अत्यधिक पेट्रोलियम सवारीका कारण प्रदुशण निकै बढेको छ ।