काठमाण्डौं – एकसाता अगाडि अमेरिकी हवाई आक्रमणमा मारिएका इरानी सैन्य जनरल कासीम सुलेमानीको हत्याले इरानलाई नै फाइदा त पुगेको छैन भन्ने प्रश्न उठेको छ । सुलेमानीको हत्याको बदलामा इरानले बुधबार बिहानै इराकस्थित दुई अमेरिकी सैन्य अखडालाई निशाना बनाउँदै दर्जनौं मिसाइल प्रहार गर्यो । जसलाई सन १९७९ यताकै इरानको अमेरिका माथिको प्रत्यक्ष हमला मानिएको छ । सन १९७९ मा इरानले अमेरिकी दूतावासलाई कब्जामा लिएको थियो ।
इरानले अमेरिकी सैन्य अखडामा गरेको मिसाइल प्रहारबाट असी भन्दा बढी अमेरिकी सैनिकहरुको मृत्यु भएको इरानी सञ्चारमाध्यमले दावी गरेका थिए । इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले त अमेरिकाको “मुखमा हानेको थप्पड” भएको प्रतिक्रिया समेत दिएका थिए ।
तर अमेरिकी पक्ष (खासगरी राष्ट्रपति ट्रम्प) ले भने “सब ठिक” रहेको भन्दै ट्विट गरे । अमेरिकी रक्षामन्त्रालयले भने “क्षतिको विवरण संकलन गरिरहेको” उल्लेख गरेको थियो । इराकमा रहेका दुईवटा सैन्य अखडामा भएको मिसाइल आक्रमणको क्षति कति भयो भनेर अमेरिकि प्रशासनलाई यत्रो समय लागेको कुरा स्वभावीक भने थिएन ।
तर बिहीबार बिहान सम्म आइपुग्दा इरानी मिसाइल आक्रमणबाट एक जना पनि अमेरिकी सैनिक वा नागरिक घाइते समेत नभएको खबर बाहिरिए सँगै इरानी दावीलाई लिएर प्रश्न मात्रै उठेन सुलेमानीको हत्यालाई लिएर वर्तमान इरानी सत्ताले लाभ लिन त खोजेको होइन भन्ने प्रश्न उठ्न थालेको छ । जसमा ट्रम्प प्रशासनको पनि मौन समर्थन समेत रहेको आशंका छ । यो आशंका यसकारण पनि बलियो छ कि अमेरिकी सैन्य अखडा प्रत्यक्ष इरानी हमलाका बाबजुद पनि ट्रम्प सम्यमित देखिएका छन ।
गिर्दो आर्थिक अवस्था र सरकार विरोधी प्रदर्शले आजित बनेको इरानी सरकारलाई सुलेमानीको हत्याले ठूलो राहत दिएको छ । आफ्नै सरकारको विरोधमा रहेका नागरिक अमेरिकाको विरोधमा उर्लेका छन् जसको प्रत्यक्ष फाईदा अमेरिकालाई भन्दा वर्तमान इरानी सरकारलाई नै फाईदा पुगेको एक अमेरिकी अधिकारीले नै टिप्पणी गरेका छन ।
अर्कोतिर इरानभित्र र बाहिर समेत (सुन्य बहुल क्षेत्रमा) नायकको छवि बनाएका सुलेमानी इरानभित्र इरानका सर्वोच्च धार्मिक नेता आयातोल्लाह खामेनी पछि प्रभावशाली रहेको बताइएको छ । कतिसम्म भने इरानको विदेश नीति निर्माणमा उनको प्रत्यक्ष हात रहने गरेको थियो । इरानी विदेशमन्त्री पनि उनका अगाडि निष्प्रभावी रहन्थे ।
सर्वोच्च नेताको निर्देशनमा मात्रै चल्ने हुनाले पनि इरानी सरकारका केही वरिष्ठ अधिकारीहरु नै उनिप्रती सकारात्मक नरहेको समेत हुन सक्ने आशंका गरिन्छ । देशमा सरकार विरोधी विरोध प्रदर्शन हुँदा समेत सुलेमानी निरन्तर मध्य पुर्वमा इरानको स्थिति सुदृढ बनाउन मात्रै ध्यान केन्द्रीत गर्दा इरानले आफ्नो क्षमता भन्दा धेरै ‘बोझ’ उठाउनु परेको केही अधिकारीको बुझाई थियो ।
सुलेमानी हत्यापछि उनको दाहासंस्कारमा उत्रेको भिड देख्दा पनि उनको लोकप्रियताको अनुमान लगाउन सकिन्छ । सुलेमानीको हत्या पश्चात् इराकमा पनि इरानी प्रभाव बढेको ठानिएको छ । त्यसैको पहिलो प्रमाणको रुपमा इराकी संसदले अमेरिकी सेना फिर्ता गर्ने निर्णय रहेको समेत जानकारहरुको बुझाई छ । जसले आगामी दिनमा इराक सरकार र अमेरिकी प्रशासनबीच तनाव बढ्न सक्ने आकलन गरिएको छ । यसको स्वभावीक लाभ पनि इरानलाई नै हुनेछ । यो अवसर समेत सुलेमानी हत्या प्रकरणले जुटाई दिएको छ ।
अर्कोतिर अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपति निर्वाचन भन्दा अगाडि राष्ट्रवादी कार्ड फालेको अनुमान गरिएको छ । जसले अमेरिकी कट्टरपन्थी र इजरायली मुलका अमेरिकीलाई स्वभावीक रुपमा ट्रम्पको पक्षमा उभ्याउने अनुमान गरिएको छ । त्यो भन्दा अर्को लाभ कम्तीमा अहिले नै ट्रम्प वा अमेरिकाका लागि हुने सम्भावना न्यून छ । बरू मध्यपुर्व (खासगरी इराक, सिरिया र अफगानिस्तानमा समेत) अमेरिका रक्षात्मक अवस्थामा पुग्ने आकलन गरिएको छ ।
अर्कोतिर सुलेमानीको हत्या पश्चात् जतिसुकै कडा प्रतिक्रियामा इरान उत्रिएको भएपनि तत्काल अमेरिकासँग युद्धगर्ने मनस्थितिमा छैन । तर अमेरिकीलाई देखाएर सरकारले आफ्ना कमजोरीको ढाकछोप गर्ने र आफ्ना आणविक भट्टीहरुलाई परिष्कृत गर्ने अवसरको रुपमा लिने सम्भावना रहेको अधिक छ । जसको मुल्य कुनै समय अमेरिकाले नै चुकाउनुपर्ने सम्भावना अधिक छ ।
अब प्रश्न उठ्न थालेको छ यति मुर्खतापूर्ण कदम ट्रम्पले अहिले नै किन उठाए । किनकि सुलेमानी अमेरिकाको नजरमा कुनै नयाँ नाम थिएन ।