काठमाण्डौं – सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र कूटनीतिक पहलबाटै कालापानी सीमा समस्याको समाधान हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
प्रेस सङ्गठन नेपालले बिहिबार गरेको पत्रकार सम्मेलनमा प्रचण्डले कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गरिएमा समस्या झन् जटिल बन्ने र बिग्रहतिर जाने उनले बताए । सर्वपक्षीय सर्वदलीय बैठकको सुझाव अनुसार नै सरकारले सीमाको विषयमा भारतलाई पत्र पठाइसकिएकोे र त्यसको जवाफ भने आइनसकेको खुलस्त गरे ।
नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सर्वपक्षीय सर्वदलीय बैठक गरेर सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको अवस्थामा राजनीतिक र कुटनीतिक पहलबाट कालापानी क्षेत्रबाट भारतीय फौज फिर्ता गाउने र भूभाग सुरक्षित गर्ने उनको भनाई थियो ।
उनले लिम्पियाधुरा नै महाकाली नदीको मुहान र महाकाली सीमा नदी भएकोले यसमा कहीँकतै अन्योल मान्नुपर्ने कारण नभएको प्रष्ट पार्दै भारतले गल्तीबाट फिर्ता हुने दाबी समेत गरे ।
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो नयाँ नक्सामा समेटेर सार्वजनिक गरेपछि नेपालमा भारतविरोधी आन्दोलन जारी छ । नेपाली भूमि छाडेर फिर्ता हुन भारतले नमाने अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग पनि व्यापक बन्दै गएको छ ।