काठमाण्डौं – दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ चलाउने अपरेटर अभावका कारण झण्डै ८ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र (लाइसेन्स) छपाई कार्य रोकिएको छ ।
गत कात्तिक मसान्तसम्ममा झण्डै सात लाख ८६ हजार चालक अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले विभागमा रहेका पुराना ‘प्रिन्टर’बाट छपाइ भइरहेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । तर त्यो नगन्य मात्रा हुन् ।
पुराना उपकरणको क्षमताले नभ्याएपछि सरकारले दुई महिनाअघि थोरै समयमा अधिक संख्यामा लाइसेन्स छपाउने ‘मास प्रिन्टर’ खरिद गरेको थियो ।
‘मास प्रिन्टर’ सञ्चालनका लागि दक्ष कार्यरत जनशक्तिलाई तालिम दिइरहेकोले ढिलाई भएको विभागकाे दाबी छ । ‘मास प्रिन्टर’ खरिद गरिएको भारतीय कम्पनीले नै विभागका कर्मचारीलाई उपकरणको प्रयोगबारे प्रशिक्षण दिइरहेको छ ।
तालिम सकिएर मास प्रिन्टरले पूर्णरुपमा काम गर्ने कहिले हो ? कुनै पत्तो छैन । तर चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण र नविकरणका लागि आवेदन दिनेहरुको संख्या झण्डै आठ लाख पुगिसकेको विभाग स्रोतले जनाएको छ ।
‘मास प्रिन्टर’ र चालक अनुमतिपत्र छाप्नका लागि १० लाख कार्ड खरिद गरेसँगै विभागले छाप्न बाँकी कार्ड सक्ने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौतामा ‘मास प्रिन्टर’ प्रयोगमा आएसँगै अहिले रहेको चालक अनुमतिपत्र छपाई तीन महिनामा सम्पन्न गर्ने उल्लेख थियो ।