काठमाण्डौं – दशरथ रंगशालामा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत आज विभिन्न खेलहरु हुने भएका छन् । जस अन्र्तत आज साँझ ५ बजे नेपालले पुरुष फुटबलमा श्रीलंकासंग प्रतिष्पर्धा गर्दैछ। पहिलो खेलमा हिजो भुटानविरुद्ध ४–० शानदार जीत निकालेको नेपाली टोली आज उच्च मनोबलका साथ मैदान उत्रिदैछ । र उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ ।
त्रिभुवन वीश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा हुने पुरुष टि ट्वेन्टी क्रिकेटमा अहिले ९ बजे बंगलादेश र माल्दिभ्स तथा दिउँसो १ बजे श्रीलंका र भुटान भिड्दैन् । पोखरामा जारी महिला क्रिकेटमा नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ ।
नेपालले पहिलो खेलमा माल्दिभ्सविरुद्ध १० विकेटको शानदार जित दर्ता गरेको थियो। बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो ।
आज हुने अर्को खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन्। करातेमा आज ४ स्वर्ण पदकको छिनोफानो हुनेछ। कुमुते पुरुष ५० केजी र महिला ६८ केजी तथा दुवैतर्फ टिम कुमुतेका खेलहरु हुनेछन् ।
अहिलेसम्म नेपालले ९ स्वर्ण जितेको करातेका खेल आजदेखि सकिँदैछन्। तेक्वन्दोमा आज थप ६ वटा स्वर्णपदकका लागि प्रतिष्पर्धा हुनेछ। उसुको गिरोगीतर्फ आज दुई स्वर्ण पदकको टुंगो लाग्नेछ । आज ब्याडमिन्टनका क्वाटरफाइनल खेल हुनेछन् ।
ह्याण्डबल र कबड्डीका खेल आजदेखि शुरू हुँदैछन् भने एथलेटिक्सका विभिन्न इभेन्टका प्रतिष्पर्धा आज पनि जारी रहनेछन्। खो–खोमा महिला र पुरुषतर्फको स्वर्णपदकको छिनोफानो आज हुनेछ। आज गल्फमा दोस्रो चरणका खेल हुनेछन् भने सुटिङ, टेबलटेनिस र ट्रायथलनका खेल पनि जारी रहनेछन् ।
अहिलेसम्म आयोजक नेपाल २३ स्वर्ण, १० रजत र १३ काश्यका साथ कूल ४६ पदकसहित तालिकाको शीर्ष स्थानमा छ । १७ स्वर्ण, १६ रजत र ९ कास्य जितेको भारतले कूल ४२ पदकका साथ नेपाललाई पछ्याइरहेको छ ।