काठमाण्डौं – दक्षिणी छिमेकी राष्ट्र भारतले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि अतिक्रमण गरेपछि भएको विरोध प्रदर्शन बुधबार पनि जारी रह्यो ।
काठमाडौंमा भारतीय हस्तक्षेप र अतिक्रमणको विरोध गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले र्यालिसहित प्रदर्शन गर्यो ।
र्याली रत्नपार्क शान्तिबाटिकाबाट सुरु भई बागबजार, पुतलीसडक, पद्मोदयमोड, भद्रकाली, सहिदगेट, हुँदै पुनः शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको थियो ।
विरोधसभामा विभिन्न दल र मोर्चाका वक्ताहरुले सम्बोधन गर्दै भारतलाई साम्राज्यवादको संज्ञा दिए । विरोध सभालाई सम्बोधन गर्दै मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल ‘गौररव’ले सम्बोधन गर्दै कालापानीमा राखेको भारतीय फौजलाई तत्काल हटाउन माग गरे । अतिक्रमित नेपाली भूमिबाट भारतीय फौज फिर्ता गराई देशको माटोको रक्षा गर्न सरकार चुक्दै गएको र त्यसले जनता नै अघि सर्नुको विकल्प नरहेको धारणा गौरवले राखे थिए ।
विरोधसभामा क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की महासचिव शारदा महत, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका सचिवालय सदस्य अर्जुनलाल श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।
वक्ताहरुले भारतीय हस्तक्षेपलाई नेपालीले नसहने र अतिक्रमित भूमि फिर्ता नभए प्रतिरोध संघर्ष चलाउने र अन्तर्राष्ट्रियकरण गर्ने विचार राखे । सीमा समस्या समाधान गर्न सरकारले कुटनीतिक पहल समेत नगरेर साम्राज्वादीसामू वर्तमान सरकार लम्पसार परेको आरोप उनीहरुले लगाए ।
भारतीय हस्तक्षेपका विरुद्धमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, विप्लव नेकपा, नेकपा (क्रान्तकारी माओवादी} खुलेर सडकमा उत्रिएका छन् । सत्तारुढ नेकपा भने केही नेताले बाेलेकाे बाहेक भातृ संगठनहरु प्रदर्शनमा आइरहेका छन् ।