काठमाण्डौं – पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा पुगेर संगीत र डान्समा झुम्मेका छन् । छोरी प्रेरणा, बुहारी हिमानीलगायत परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेका थिए ।
हलमा गीत–संगीतमा झुमिरहेका सहभागीहरुसँग हात समातेरै ज्ञानेन्द्र बेजोडसँग नाचेका थिए । ‘फ्लाइङ किस’ पटकपटक दिए । सहभागीसँग सेल्फी खिचाए ।
बुहारी हिमानी पनि संगीतको तालमा निकै उफ्रिइन् । मञ्चतर्फको भागमा रहेकी उनले पटकपटक मुठ्ठी उचालिन् । सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् ।
पूर्वराजा परिवारको यो दृष्य देखेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका राजसंस्था पुनस्र्थापनाका पक्षधर कमल थापाले आफ्नो ट्वीटर पेजमा सन्देश लेख्दै जनताको सुखमा रमाउने, जनताको साथमा रहने र संविधानको परिधिभित्र रहेर राष्ट्रिय एकताको प्रतीकको रुपमा राजसंस्थालाई देख्न चाहेको भन्दै उक्त गतिविधिको प्रसंशा गरेका छन् ।
तर राजनीतिक नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, बाबुराम भट्टराई लगायतले जनताले मसानघाटमा पुर्याइसकेका राजतन्त्र फर्काउने वा फर्किने गतिविधि बढाए नागर्जुनबाट गलहत्याएर देशबाटै लखेट्ने अभिव्यक्ति दिँदै आइरहेका छन् ।
राजतन्त्रको २०६३ मा राजतन्त्रको अन्त्यपश्चात ज्ञानेन्द्र नागर्जुन दरबारमा बस्दै आएका छन् । उनले बेलाबेला दलहरुकै कारण राष्ट्रियता खतरामा पर्दै गएको भन्दै भनाई वा विज्ञप्तिमार्फत धारणा राख्दै आइरहेका छन् । बुहारी हिमानीले पनि हिमानी ट्रष्टमार्फत बेलाबेलामा सार्वजनिक गतिविधिलाई निरन्तरता दिइरहेकी छन् ।
छोरा पारस शाह भने अहिले पनि विभिन्न गतिविधिका कारण विवादित हुँदै विरोधीदेखि प्रशासनसम्मको आँखामा धुलो बनिरहेका छन् ।